FLASH NEWS

‘गणतन्त्र ढाल्न अब एक धक्का मात्र चाहिन्छ’ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन


नेपाल आवाज १० चैत्र २०८०, शनिबार २२:०० मा प्रकाशित ४१२३ पाठक संख्या

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र ढाल्न अब एक धक्का मात्र चाहिने बताएका छन् ।


झापाको बिर्तामोडमा शनिवार आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता अब धर्मरको स्थितिमा रहेको बताए ।

उनले भने, ‘यो गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता कांग्रेस, एमाले र माओवादीको हो । यी व्यवस्था ढाल्न अब एक धक्का काफी छ ।’

ठूला ‘भनाउँदा’ पार्टीहरूले देश विकासमा कहिले ध्यान नदिएको उनको भनाइ थियो । देश विकासका लागि राप्रपाको नेतृत्व अनिवार्य भइसकेको लिङ्देनको दाबी थियो ।

जनतामा भएकाे निराशालाई आशामा बदल्नका लागि अहिलेको व्यवस्था परिवर्तन आवश्यक रहेको उनको जिकिर थियो। शिक्षा, स्वास्थ्य र राेजगारबाट बञ्चित हुनका साथै एउटा सामान्य जनता राेग पालेर बस्नु पर्ने अवस्थामा याे व्यवस्था रहेकाे हुनाले यसलाई वदल्नुकाे विकल्प नरहेकाे उनको भनाइ छ ।

राज्यले स्वास्थ नि:शुल्क गर्नु पर्ने ठाउँमा एउटा गरिव परिवारकाे सदस्य विरामी भएर अस्पताल जाँदा जाति भए पछि फेरि विल हेरेर ढल्नु पर्ने अवस्था रहेकाे भन्दै लिङदेनले अब देश बनाउने काममा राप्रपाले नेतृत्व गर्ने बताए।

मिटरव्याज, सहकारी ठगी लगायत बित्तिय समस्यामा परेका नागरिकहरुको समस्या समाधानका लागि छुट्टै ‘बित्तिय समास्या समधान गर्न उच्चस्तरिय आयोग गठन गर्नु पर्छ,’ लिङदेनले भने, ‘बित्तिय रुपमा बिभिन्न समस्यामा पर्नु भएका सबै नागरिकको अभिभावक अब राप्रपा हुनेछ ।

बिर्तामोडस्थीत सिटि सेन्टरमा आयोजित सभामा राप्रपाका उपाध्यक्षद्वय बुद्धिमान तामाङ, रबिन्द्र मिश्र, प्रबक्ता ज्ञानेन्द्र शाही लगयातका नेताहरुले अब यो व्यवस्थालाई धेरै दिन पाल्न नसकिने भन्दै नेपालीको अवस्था बदल्नका लागि व्यवस्था बदल्नु पर्ने धारणा राखेका थिए ।

राप्रपाका नेताहरूले चैत २७ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् ।