FLASH NEWS

गल्ती गर्ने कसैलाई पनि सरकारले जोगाउदैन, निर्दोष डराउन पर्दैन,भ्रष्टाचारीलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने


नेपाल आवाज ११ चैत्र २०८०, आईतवार १७:२९ मा प्रकाशित ७८१ पाठक संख्या

चितवन – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् ।


होलीको अवसरमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
गृहमन्त्री लामिछानेले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन । त्यसैले गल्ती गर्ने कसैलाई छोड्नेवाला छैनौं, कसैलाई जोगाउन लाग्नेवाला छैनौं ।’
रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चुनावमा जनता समक्ष गरेका वाचा र उठाएका मुद्दा नबिर्सिएको पनि बताए ।

गृहमन्त्री लामिछानेले फाइलमा केहीको नाम आएपछि रोकिएको सुनकाण्ड पुनः ब्यूँत्याएको बताए ।

उनले अब जुनसुकै विषयमा जोकोही जोडिए पनि नजोगिने बताए । गृहमन्त्री लामिछानेले सरकारमा गएको छोटो समयमा केही परिणाम दिएको दाबीसमेत गरे ।