FLASH NEWS

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध


नेपाल आवाज १३ चैत्र २०८०, मंगलवार १०:३३ मा प्रकाशित १४११ पाठक संख्या

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चित कालका लागि लम्बाएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।


 

भारतीय व्यापारीहरु यसअघि प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाभन्दा बढी घटेको र यस सिजनको बालीबाट नयाँ आपूर्ति आउन थालेकाले प्रतिबन्ध खुल्ने अनुमान गरेका भएपनि सरकारले गत शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध यथावत रहने जनाएको छ ।

 

भारतमा हुने लोकसभा निर्वाचन अघि सरकारले स्थानीय बजारमा कुनै समस्या आउन नदिन प्रतिबन्ध यथावत राखेको विश्लेषण गरिएको छ । भारतका केहि थोक बजारमा प्याजको मूल्य डिसेम्बरमा प्रतिकिलो ४५ भारु सम्म झरेको थियो ।

 

बंगलादेश, मलेसिया, नेपाल र युएई जस्ता देशहरू प्याजमा भारतमाथि निर्भर रहेका छन् । भारतको प्रतिबन्धपछि यी देशहरुमा प्याजको उच्च मूल्यसँग संघर्ष गरिरहेका छन् । चीन वा इजिप्ट जस्ता प्रतिद्वन्द्वीहरू भन्दा धेरै बजारहरूमा छोटो ढुवानी समय भएको भारतले एशियाली देशहरूले आयात गर्ने प्याजको आधाभन्दा बढी हिस्सा ओगटेको बताइन्छ ।कालिमाटी तरकारी बजारमा भने अहिले भारतीय प्याजको मुल्य ७० रुपैयाँ प्रतिकिलो रहेको छ ।