FLASH NEWS

मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा जीबीलाई ल्याउन समस्या भयो : आईजीपी कुँवर


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार १९:४५ मा प्रकाशित ९१३ पाठक संख्या

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीको मुख्य व्यक्ति अध्यक्ष जिबी राई नै भएको बताएका छन् ।


बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।

आईजीपी कुँवरले भने,‘उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सुपुर्दगी सन्धि छैन । मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ । मलेसिया सरकारले सुपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि मन्त्रालय मार्फत पठाइसकेका छौं ।’

आईजीपी कुँवरले राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भइसकेको बताए ।

तर पत्र पुग्दा पनि सुर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको उनले बताए ।

यद्यपि यसमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि काम गरिरहेको आईजीपी कुँवरले बताए ।

यसमा नेपालको मुख्य समस्या नै सुपुर्दगी सन्धिको अभाव भएको आईजीपी कुँवरको भनाइ छ ।

उनले जिबी राईलाई पक्राउ गरेर नेपाल ल्याउने बिषयमा गृहमन्त्रीले समेत तत्परता देखाएको जिकिर गरे। महानिरीक्षक कुँवरले सहकारीसँग जोडिएका गृहमन्त्री रवि लामिछाने बिषयमा बिभिन्न कोणबाट बहस भएपनि अहिलेसम्म कुनै प्रमाण फेला पर्न नसकेको दाबी गरे।

त्यस्तै महानिरीक्षक कुँवरले पीएसओ र गाडी छोडेर हिँडेपछि शंका उत्पन्न भएकाले माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको स्पष्ट पारे।

उनले यस बिषयमा कुनै दवाव र प्रभावमा नपरेको भन्दै अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताए।

उनले कांग्रेस सांसद बिनोद चौधरीको पासपोर्ट सिज नगरिएको र एक दिनमा नै बयान सकिने भएकाले प्रक्राउ नगरिएको स्पष्ट पारे। बयान लिँदा व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण हुने भएकाले बयानका बिषयमा संसदमा जानकारी गराएको बताए। किर्ते मुद्दामा अनुसन्धान जारी रहेको उनले बताए।