FLASH NEWS

वरिष्ठ नेताहरूलाई बाइपास गरी बीना मगरलाई सहइन्चार्ज ; नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिमा विवाद


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १५:१६ मा प्रकाशित २७७ पाठक संख्या

काठमाडौँ ।  केन्द्रीय सदस्य बीना मगरलाई सहइन्चार्ज बनाएकोमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिमा विवाद देखिएको छ । फागुन १६ गते  माओवादीको पदाधिकारी बैठकले उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्ज र बीनालाई सहइन्चार्जको जिम्मेवारी दिएकोमा स्थायी समिति सदस्य खगराज भट्ट बैठकबाट असहमति जनाउदै बाहिरिएका थिए । तीन पटकसम्म विभिन्न तहका नेतासँग छलफलका लागि बसेको प्रदेश सचिवालयको विस्तारित बैठक पाँच जना केन्द्रीय सदस्यसहित अधिकांश सचिवालय सदस्यहरूले बहिस्कार गरेको जानकारी दिएका छन्।


यस निर्णय प्रदेश इन्चार्जले लागु गराउने कोसिस गर्दागर्दै  पटक पटक सिनियर नेताहरूसँग बसेर छलफल गर्नुभयो । त्यसकै निरन्तरतास्वरुप शनिबारसमेत सचिवालय बैठक राख्नुभयो । उक्त बैठकमा केन्द्रीय सदस्यहरू र प्रदेश  सचिवालयका गरी ६० प्रतिशतले बैठकमा अनुपस्थित रहे । पदाधिकारीको निर्णयमाथि यहाँ असन्तुष्टि देखिएको छ’, बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।  सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीले विवाद भएको स्वीकार गर्दै यो विषयलाई आपसी समझदारीमा टुङ्ग्याउने निर्णय भएको बताए । ‘सहइन्चार्जको विषयमा विवाद आएको हो । केही साथीहरू बैठकमा अनुपस्थित हुनुभयो । यस विषयमा आपसी समझदारीमा टुङ्ग्याउने गरी निर्णय भएको छ।

असन्तुष्टि समाधान नभएपछि प्रदेश इन्चार्ज पोखरेलले सबै पक्षसँग छलफल गरेर फेरि पूर्ण बैठक बोलाउने आश्वासन दिएको ती सदस्यको भनाइ छ ।  पोखरेलले लेनिनवादी पार्टी सिद्धान्त ‘काम कारबाहीमा एकरूपता र विचार अभिव्यक्तिको स्वतन्त्रता’को आधारमा अगाडि बढ्न नेताहरूलाई सुझाव पनि दिएको बुझिएको छ । उनले स्थायी समितिले गरेको निर्णय संशोधन हुन नसक्दै भन्दै अर्को निर्णय नभएसम्म निर्णय कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताएका छन्  ।

यस्तै बैठकले वैशाख र जेठमा दुई महिने चुनाबी अभियान गर्ने तय भएको जानकारी दिएका छन्  ।  बझाङको उपचुनावमा पार्टीले उम्मेदवारी दिने र सुदूरपश्चिम सभामा एमाले–माओवादी गठबन्धनबाट नै प्रदेश सरकार बनाउने  निर्णय गरेको उनले जानकारी दिएका छन्  ।