FLASH NEWS

पश्चिमा मुलुकहरूले नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजे : कमल थापा


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार २०:३१ मा प्रकाशित २२२१ पाठक संख्या

भैरहवा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागेको बताएका छन् । उनले पहाडका सिंगो गाउँगाउँमा धर्म परिवर्तन भएको बताए ।


राप्रपा नेपाल, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले भने,‘तराईमा पनि म सुन्दैछु, बिस्तारै यो धर्म परिवर्तनको महारोग सल्किएर गएको छ । हामीलाई कुनै पनि धर्मको विरोध गर्नु छैन । इसाईहरू आजभन्दा ७० वर्ष अगाडि औलामा गन्न सक्ने सङ्ख्यामा थिए । १०–१२ जना मात्र थिए याद राख्नुस् । अहिले लाखौँको सङ्ख्यामा भएका छन् ।’

उनले पश्चिमा मुलुकहरूले भारत र चीनलाई नियन्त्रण गर्नको निमित्त धर्म परिवर्तन गराएर नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजीरहेको र त्यसमा प्रमुख राजनीतिक दलहरू हतियारको रूपमा प्रयोग भएको आरोप लगाए ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका थापाले यो धर्म परिवर्तनको लहरले सनातन धर्म कमजोर मात्र हुने नभई नेपालमा कहिले नभएको धार्मिक, सांस्कृतिक द्वन्द्व, विवाद, झगडा, युद्ध हुन सक्ने खतरा देखिएको बताए । उनले भने, यो सबै यही भ्रष्ट व्यवस्था र भ्रष्ट शासकले गर्दा भएको हो ।

अध्यक्ष थापाले नेपालमा सङ्घीय धर्म निरपेक्ष गणतन्त्र असफल भएको दाबी गरे । यसको प्रमाण भनेको अहिले देश भ्रष्टाचारको दलदलमा भासिएको बताए । केही सीमित दलका सीमित नेताहरूले सिण्डिकेट खडा गरेर देशमा ब्रम्हलुट गरिरहेको उनले आरोप लगाए ।

मुलुकमा राजासहितको प्रजातन्त्र तथा हिन्दूराष्ट्र पुर्नस्थापना र निर्वाचन प्रणालीमा सुधार अपरिहार्य रहेको उनले दाबी गरे । उनले भने, ‘राप्रपा नेपाल अलग पहिचान र फरक विचार बोकेको पार्टी हो । २०८४ सालमा राप्रपा नेपाललाई अग्रणी शक्तिको रूपमा स्थापित गर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ ।’

राप्रपा नेपाल रुपन्देहीका अध्यक्ष अर्जुन थापा (कालु) को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सहायक प्रवक्ता प्रदीप शेरचनको स्वागत तथा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष सुनिल पन्थीको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सहायक महामन्त्री दिनेशचन्द्र गुप्ता, लुम्बिनी विकास क्षेत्र समन्वय समितिका अध्यक्ष उत्तम तिमिल्सिना लगायतले भनाइ राखेका थिए ।