FLASH NEWS

किन बस्न सकेन बागमती प्रदेश सभाको बैठक ?


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार १५:५५ मा प्रकाशित ६९७ पाठक संख्या

हेटौडा । बागमती प्रदेश सभाको बैठक तोकिएको समयमा बस्न सकेको छैन । यस अघि आज १ बजे बस्ने भनिएको बैठक सत्ता समीकरण दलमा सहमति नजुटेका कारण ४ बजेसम्मका लागि सारिएको छ ।


आजको बैठकमा मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकमा २ सांसद बैठकमा उपस्थित नहुने भएपछि बैठक सारिएको बताइएको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीकी सांसद खड्गी र एकीकृत समाजवादीकी सांसद रमा आले उपस्थित नहुने भएपछि बैठक सारिएको बुझिएको छ ।

दुई सांसद उपस्थित नभएमा मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको छ । अब ४ बजेका लागि तोकिएको बैठकमा दुई सांसदको उपस्थिति हुने नहुने स्पष्ट रहेको छैन ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । कांग्रेस, राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।