FLASH NEWS

प्रहरीलाई आईजीपी कुँवरको निर्देशन – राष्ट्र हितमा काम गर्न इमानदार र निष्ठावान रहँदै सक्रिय हुनू


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार १०:३१ मा प्रकाशित ४०३ पाठक संख्या

काठमाडौं – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले राष्ट्र र संगठनको हितको लागि इमानदार र निष्ठावान रहँदै उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ आआफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।


नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै आईजीपी कुँवरले सो कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले विगतको तुलनामा राजस्व संकलन लक्ष्यभन्दा माथि रहेको उल्लेख गर्दै अबका दिनमा समेत फरार प्रतिवादी पक्राउ गर्न, राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिका लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन आवश्यक रहेको बताए ।

संगठनको कार्यसम्पादन गुणस्तर बढाउन र लक्ष्य प्राप्त गर्न विशुद्ध रूपमा निष्ठापूर्वक काम गर्न उनले निर्देशन दिए । प्रहरी महानिरीक्षक कुँवरले संगठनको प्राथमिकताबारे सबैलाई जानकारी भएको चर्चा गर्दै सोही अनुरूप आन्तरिक शुद्धिकरण, स्थायित्व र सुशासनका सन्दर्भमा आफू रूपान्तरण हुने र सकारात्मक उत्प्रेरणाका साथ नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताए ।

प्रत्येक प्रहरी कार्यालयहरूको काम र गतिविधिको संगठनले समीक्षा गरिरहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले आफ्नो संयन्त्र राष्ट्र हितमा प्रयोग गर्दै माटोको पहिचान गरी संगठन र राष्ट्रको लक्ष्य हासिल गर्न राष्ट्र सेवकको रूपमा सहजीकरण गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।