FLASH NEWS

राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार ११:०६ मा प्रकाशित ६३१ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार राजीनामा दिने तयारीमा छन् ।


कांग्रेस संसदीय दलको बैठकमा छलफल गरेर आज दिउँसो राजीनामा दिने तयारी गरेका हुन् ।

स्रोतका अनुसार विश्वासको मत नलिने बरु राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ मुख्यमन्त्री पाण्डेले पोखरामा उपलब्ध सांसदहरुसँग छलफल राखेका छन् ।

गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले संविधानअनुसार २२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्छ र प्रदेश सभा नियमावलीअनुसार आज मंगलबार दिउँसोसम्ममा विश्वासको मत लिने भए संसद सचिवालयमा सूचना पठाइसक्नुपर्छ ।

तर, मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिन लागेका हुन् । संसद्‍मा ठूलो दलको हैसियतले उनी पुन: मुख्यमन्त्री हुने योजनामा छन् ।

सरकार गठनका लागि निर्णायक रहेको राप्रपाको कुनै निर्णय नआउँदासम्म गण्डकीमा सरकार बनाउन अन्योल छ । नयाँ सत्ता समीकरण अनुसार एमाले-माओवादी मिल्दा सरकार बनाउने स्थिति छैन भने उनीहरूलाई पनि राप्रपाको साथ चाहिन्छ ।

मुख्यमन्त्री पाण्डेले चैत ५ मा नै स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनाइसकेका छन् ।

राप्रपा र स्वतन्त्र सांसदले साथ दिए पनि कांग्रेस नेतृत्वमा सरकार बन्न नसक्ने भएपछि पाण्डेले माओवादीको चुनाव चिह्न लिएर गोरखाबाट निर्वाचित भएका नेसपाका फणीन्द्र देवकोटालाई फकाएका छन् ।

फणीन्द्रले साथ दिए मात्र कांग्रेसलाई सरकार बनाउन सहज हुनेछ । गण्डकीमा सबैभन्दा ठूलो दल कांग्रेसको २७ सिट रहेको छ ।

एमालेको २२ सिट रहेको छ भने सभामुखसहित माओवादीको ८ सिट रहेको छ । त्यस्तै राप्रपाका २ सांसद रहेका छन् ।