FLASH NEWS

पूर्व युवराज्ञी हिमानी शाहद्धारा क्यालिफोर्निया मुक्तिनाथ धाममा रुद्राभिषेक तथा अभिनन्दन


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार १२:१८ मा प्रकाशित १७२३ पाठक संख्या

क्यालिफोर्निया – पूर्व युवराज्ञी एवं हिमानी ट्रष्टका संरक्षक हिमानी शाहले प्रवासी भूमीमा रहेर पनि नेपालीहरुले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा उच्च सराहना गर्दै मुक्तिनाथ धाममा पूजाअर्चना (रुद्राभिषेक) गर्न पाएकोमा खुशी ब्यक्त गरेकी छन्  ।


नर्दन क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धाममा आयोजित बिशेष धार्मिक कार्यक्रमलाई सम्वोधन गर्दै शाहले आफूले पाएको अभिनन्दन आफ्नो हृदयमा रहिरहने बताएकी हुन् ।

“धार्मिक सहिष्णुता प्रतिविम्वित हुने गरी यस पबित्र देवालयमा हामीलाई पुजा अर्चना गर्ने अवसर जुटाइदिनुभएकोमा मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत मुक्तिनाथ धाम परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,”  धाममा उपस्थित भक्तजनहरुलाई सम्वोधन गर्दै पूर्व युवराज्ञीले भनिन्; “प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई हामीले हृदयमा राखेका छौ” ।

पूर्व युवराज्ञी शाहले  मुक्तिनाध धाममा आयोजित विशेष रुद्राभिषेक पूजामा सहभागी भई विशेष पूजा अर्चना गरेकी थिइन भने  मुक्तिनाथ धामको तर्फबाट अध्यक्ष पाण्डेले  चढाएको अभिनन्दन ग्रहण गरेकी थिइन्  । शाहले झण्डै २ घण्टा लगाएर पूजाअर्चना (रुद्राभिषेक) गरेकी थिइन्।

शाहलाई मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत पदाधिकारी एवं सल्लाहकारहरु र पंचकन्याले पुष्प गुच्छासहित स्वागत गरेका थिए। पूर्व हिमानी शाहलाई हेर्ने र फोटो खिचाउनेहरुको निकै ठूलो भिड बिहानैदेखि उपस्थित भएको थियो ।

युवराज्ञी शाहको पूजा आराधना र उहांको उपस्थितिले मुक्तिनाथ धामको गरिमालाई उच्च बनाएको मात्र छैन ,नेपालबाट आई अमेरिका बस्नुहुने समूर्ण हिन्दू समुदायको धर्मप्रतिको आस्थालाई समेत उजागर गरेको मुक्तिनाथका अध्यक्ष एबं मदरल्याण्ड नेपालका अध्यक्ष तथा समाजसेवी अनिल पाण्डेले बताए ।

आगामी दिनमा यो भन्दा बृहत् कार्यक्रम आफ्नै कार्यकालमा आयोजना गर्ने बाचा समेत रहेको अध्यक्षले भने । पाण्डे मदरल्याण्ड नामक संस्थाका संस्थापक पनि हुन् ।

तस्बिर सौजन्य : अर्जुन के. सी.