FLASH NEWS

राप्रपाद्वारा काठमाडौँ केन्द्रित जनप्रदर्शनको तयारी तीव्र


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार १७:३७ मा प्रकाशित ४८१९ पाठक संख्या

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले काठमाडौँ केन्द्रित  जनप्रदर्शनको तयारीलाई तीव्रता दिएको छ ।


गत ९ फागुनमा प्रधानमन्त्री प्रचण्डसमक्ष  विभिन्न ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले २७ चैतमा काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्न लागेको हो । काठमाडौँ उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकिएको छ भने ती कमान्डरले पनि वडा कमान्डर तोकेका छन् ।

उनीहरूको नेतृत्वमा काठमाडौँ उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको र्‍याली निक्लिने र वृहत् सभामा परिणत हुने राप्रपाले जनाएको छ ।

४० बुँदे माग पूरा गराउन दवाव दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरेको राप्रपाको २७ चैतमा हुने जनप्रदर्शनमा देशभरबाट कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठूलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ ।