FLASH NEWS

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमावली संशोधन हुने, बढुवा योग्यतामा आधारित


नेपाल आवाज २२ चैत्र २०८०, बिहीबार २०:५६ मा प्रकाशित ६७९ पाठक संख्या

काठमाडौं – प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली लागू हुने गरी गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने भएको छ ।


उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले योग्यतामा आधारित बढुवा प्रणाली लागु हुने गरी नियमावली संशोधनको प्रस्ताव ल्याउन बिहीबार दुवै प्रहरीका महानिरीक्षकलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा बिहीबार सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली–२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

दुवै प्रहरी संगठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाई थियो । ‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौँ भन्ने बढुवा नै पिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ। जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौँ। त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ,’ गृहमन्त्रीले भने ।

अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य गर्न अनिवार्य रहेको उनको भनाई छ । उनले भने,‘कसरी जनस्तरमा विश्वासिलो भइन्छ र कसरी संगठनका हरेक सदस्यलाई न्याय हुन्छ त्यसबारे अध्ययन गरेर प्रस्ताव ल्याउनुस् । तत्कालै अगाडि बढाउँछु।’

केही अघि प्रहरी उपरीक्षक र हिजो भएको प्रहरी निरीक्षकको बढुवा सिफारिसका क्रममा प्राप्त प्रतिक्रियाका आधारमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् । उनले दुवै संगठनको संयुक्त संयन्त्र बनाएर विस्तृत अध्ययन गरी प्रस्ताव ल्याउन भनेका छन् ।

छलफलमा सचिवसहित गृह मन्त्रालयका उच्च अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकसहित उच्च अधिकृत सहभागी थिए ।