FLASH NEWS

नेपाल प्रहरीका एआईजीद्वय भण्डारी र चौधरीको बिदाइ


नेपाल आवाज ७ बैशाख २०८१, शुक्रबार ००:१८ मा प्रकाशित ४५१ पाठक संख्या

काठमाडौं – प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबिच बिदाइ गरेका छन् ।

बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गरेको कार्य सह्रानीय रहेको बताए ।

आफ्नो अविच्छिन्न लामो सेवाद्वारा नागरिक र संगठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यावसायिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उनले व्यक्त गरे ।


कार्यक्रममा भण्डारी र चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गर्दै अनुभव सुनाएका थिए  । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले दुवै जनालाई मायाको चिनो प्रदान गरेका थिए ।

विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी वैशाख ५ गते सेवानिवृत्त भएका छन् भने प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लागेकी हुन् ।

दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश पाएका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।