FLASH NEWS

सहकारीमा फसेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ : रवि लामिछाने


नेपाल आवाज ११ बैशाख २०८१, मंगलवार १८:१९ मा प्रकाशित ४८७ पाठक संख्या

इलाम – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताउनुभएको छ । इलामको चुलाचुलीमा आज आयोजित चुनावीसभामा लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताउनुभएको हो ।


‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ,’ लामिछानेले भन्नुभयो, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ ।’

रास्वपाका सभापति समेत रहनुभएका लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरुले आफूहरुलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गर्नुभयो । अहिलेसम्म जसजसले जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै लामिछानेले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी पनि गर्नुभयो ।

‘इलाममा अहिलेसम्म कतिले झुक्याएर थाहा छैन, तर यसपटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्याउनेछन्,’ उहाँले भन्नुभयो, तर यो झुक्याइले देशभर परिवर्तनको लहर ल्याउनेछ । र, त्यो लहरले २०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन ।’

पुराना दलले वर्षौंसम्म आफ्ना समस्या समाधान नगरेको गुनासो गरिरहने नागरिकले फेरि पनि तिनलाई नै भोट दिने कि मत बदल्ने ? भनेर उहाँले प्रश्न गर्नुभयो । लामिछानेले भन्नुभयो, ‘अब गुनासो गर्ने होइन, मन र मत बदल्ने हो । पुरानै पार्टीमा बस्नुस्, भोट माग्न आउँदा हुन्छ पनि भन्नुस् । तर, मत घण्टीमा दिनुस् । परिवर्तनका लागि नागरिकले नै कदम अगाडि बढाउनुपर्छ । इलामले पनि अब परिवर्तनको घण्टी बजाउने बेला भइसक्यो ।’

मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै लामिछानेने सचेत रहन आग्रह गर्नुभयो । चुनावीसभामा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले मत फेरेर आफू आबद्ध वा माया गर्ने दललाई सुधार्न दबाब बढाउन तथा राजनीतिको पुरानो प्रवृत्ति, शैली र पात्र परिवर्तन गर्न सुझाव दिनुभयो ।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले पुराना दलले वर्षौंदेखि बाँड्दै आएको भ्रमबाट मुक्त भएर इलामेली मतदाताले आफूलाई रोजे उनीहरुको चाहना सम्बोधनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।