काठमाडौँ । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको छ । यस अन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ, जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ, जसमा प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम समावेश छ ।
उनीहरुको सहयोगले युक्रेनलाई रुसी हवाई आक्रमणबाट बच्न निकै सहयोग पुग्ने छ । युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउन माग गर्दै आएको थियो ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शनिबार युक्रेनलाई सैन्य सहयोग गर्ने घोषणा गरेका छन् । यो सहयोग युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (युएसएआई) अन्तर्गत दिइएको हो, जसको सहयोगमा युक्रेनले अमेरिकी कम्पनीहरुबाट नयाँ हतियार प्राप्त गर्नेछ ।
पेन्टागनमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अस्टिनले यो अहिलेसम्मकै ठूलो सैन्य सहायता भएको र युक्रेनलाई छिट्टै हतियार आपूर्ति गरिने बताए । यस सैन्य सहायता अन्तर्गत युक्रेनले अमेरिकाबाट एन्टी-ड्रोन प्रणाली, आधुनिक हतियार र हावाबाट जमिनमा मार हान्ने हतियार पाउनेछ।
अमेरिकाले युक्रेनलाई ६० अर्ब डलरको सहायता प्याकेज घोषणा गरेको थियो । यो ६ अर्ब डलरको सैन्य सहायता पनि त्यही प्याकेजको हिस्सा हो । यो सहयोगले युक्रेनलाई रुस विरुद्धको लडाईमा धेरै मद्दत गर्नेछ । खासगरी युक्रेनले अमेरिकाबाट हवाई प्रतिरक्षा प्रणाली अन्तर्गत प्याट्रियट मिसाइल र नासाम्स एयर डिफेन्स सिस्टम पनि पाउनेछ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको सैन्य सहयोगमा खुसी व्यक्त गरे तर यो पनि भने कि उनीहरूलाई अझै पनि रूसी हवाई आक्रमणको सामना गर्न थप वायु रक्षा प्रणाली आवश्यक छ ।
अस्टिनले विगत दुई वर्षमा युक्रेनलाई ७० मध्यमदेखि लामो दूरीको हवाई प्रतिरक्षा प्रणाली, हजारौं क्षेप्यास्त्र, तीन हजार बख्तरबन्द गाडीका साथै ८०० ट्याङ्क र १० हजार ट्याङ्क विरोधी मिसाइलहरू दिएको अस्टिनले बताए । साथै, युक्रेनले चाँडै एफ-१६ लडाकु विमानहरू प्राप्त गर्नेछ । युक्रेनलाई सैन्य सहायता दिने विषयमा अमेरिकी रक्षामन्त्रीले भने, ‘यदि युक्रेन पुटिनको कब्जामा गयो भने पुटिनको प्रभाव सम्पूर्ण युरोपमा देखिनेछ ।’