FLASH NEWS

रथी सिग्देलको नागरिकता विषयमा गृह मन्त्रालय र अख्तियारले छानविन अघि बढायो


नेपाल आवाज १९ बैशाख २०८१, बुधबार १०:३० मा प्रकाशित ८५३ पाठक संख्या

काठमाडौं – नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकताको विषयमा गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएका छन् । उनले उमेर सच्याएर नागरिकताको प्रतिलिपि बनाएको प्रमाणसहित उजुरी परेपछि छानविन अघि बढेको हो ।


नेपाली सेनाका भावी प्रधानसेनापतिका रूपमा अघि बढाइएका सिग्देलविरुद्ध बढुवाकै बेला गत मंसिरमा पनि अख्तियारमा उजुरी परेको थियो । तर, त्यसबेला उनले हारगुहार गरेर छानविन रोकाएका थिए । नागरिकतामा कैफियत रहेको थप प्रस्ट प्रमाणसहित गत महिना अख्तियार र गृह मन्त्रालयमा उजुरी परेपछि छानविनले गति लिएको हो ।

सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा पछि २०२३–१०–१९ बनाइएको प्रमाणसहित उजुरी परेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटबाट नागरिकता लिएका थिए ।

जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएका बताइन्छ । रुपन्देहीका मान्छेले जाजरकोटमा गएर प्रतिलिपि बनाउनुमै गलत नियत देखिने छानविनमा आबद्ध गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिएको छ । जून विषयमा अख्तियारले विस्तृत छानविन थालेको छ ।

सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ । नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ । जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ ।

यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए । सिग्देलविरुद्ध पनि उजुरी परेकोमा तत्कालीन रक्षामन्त्री पूर्णबहादुर खड्काले सिग्देललाई जोगाएका थिए । तर, अहिले सरकार फेरिएसँगै छानविन हुने सम्भावना छ । पछिल्लो छानविनपछि सिग्देल आत्तिएको जंगी अड्डा स्रोत बताउँछ ।

विवादास्पद व्यक्तिलाई गौरवशाली संगठनको नेतृत्व सुम्पदा संगठनकै छविमा आँच आउने भन्दै यस विषयमा विस्तृत अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने आवाज सेनाका उच्च अधिकारीले उठाएका छन् । यो विषयले सेनाभित्र पनि गुटबन्दी बढेको छ । कसैको छानविन हुने त कसैको छानविन नहुने भन्दै केहीले आक्रोश व्यक्त गरेका छन् ।

नेपाली सेनामा आगामी भदौमा नेतृत्व परिवर्तन हुँदैछ । जसमा सिग्देललाई प्रमुख दाबेदार मानिएको छ । तर, उनको नागरिकताको विषयमा विस्तृत छानविन भएमा उनी बर्खास्त हुने अवस्था छ ।

प्रस्ट कैफियत देखिए पनि गृह मन्त्रालयले दबाबकै भरमा छानविन टुंग्याउन सकेको छैन । ‘प्रारम्भिक छानविनमै दुई थरी जन्ममिति देखिन्छ,’ मन्त्रालयका एक कर्मचारी भन्छन्,‘छानविन अघि नबढाउन माथिबाटै दबाब आएको सुनिन्छ, तर छिटो टुंग्याउनुपर्ने गम्भीर विषय देखिन्छ ।’

– यो खबर हामीले अनलाइननेपालबाट लिएका हौँ।