FLASH NEWS

सहकारी प्रकरणको छानविनमा सघाउन आफ्नै सांसदलाई राप्रपाको निर्देशन, यस्तै प्रकारका घटनामा जोसुकैमाथि पनि छानबिनको माग


नेपाल आवाज २१ बैशाख २०८१, शुक्रबार १९:४५ मा प्रकाशित १२०१ पाठक संख्या

प्रेस विज्ञप्ति


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा २०८१ बैशाख १८ गतेदेखि बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भएको छ । बैठकमा पूर्व अध्यक्षद्वय पशुपति शमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्षहरु, उपाध्यक्षहरु, महामन्त्रीहरु र कार्यसम्पादन समिति सदस्हरुको सहभागीता रहेको थियो ।
बैठकका निर्णयहरु यसप्रकार छ ।

१. गत २०८० चैत २७ गते पार्टीले आह्वान गरेको काठमाण्डौं केन्द्रीत जनप्रदर्शनबाट स्वदेश, विदेशका पार्टीका कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकमा नयॅा उत्साह पैदा गरेको बैठकको निश्कर्ष रहेको छ। जनप्रदर्शनबाट पार्टीको स्विकार्यता बढ्दै गएको, पार्टी राष्ट्रिय रुपमा कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको, अन्तर्राष्ट्रिय तहमा समेत चासो अभिवृद्धि भएको र समग्रमा पार्टी, पार्टीको एजेण्डाप्रति समर्थन र जनविश्वास प्राप्त भएको निश्कर्ष निकालिएको छ। आफ्ना ४० सुत्रीय माग पूरा गराउन आन्दोलनलाई विभिन्न स्वरुपमा जारी राख्दै जाने निर्णय गरिएको छ।
२. जनप्रदर्शनमा प्रशासनिक दमनबाट घाइते भइ उपचारका क्रममा दिवंगत हुनुभएका बर्दिया जिल्ला मधुवन नगर कार्य समितिका पूर्व अध्यक्ष ठाकुर प्रसाद डॅागीप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछ। स्व.डॅागीलाई राप्रपाले सहिदको सम्मान दिने र स्व.डॅागीलाई राज्यको तर्फबाट सहिद घोषणा गर्न माग गर्ने निर्णय गरिएको छ।
३. प्रदर्शनका क्रममा घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै घाइते हुनुभएकाहरुलाई आगामी जेठ १५ गते पार्टी स्थापना दिवसमा सम्मान गरिनेछ।
४. आन्दोलन र निर्वाचन दुवैका लागि संगठन आधारभूत विषय भएकाले आगामी दिनमा पार्टीलाई थप जागरुक र क्रियाशील बनाउन ४० बॅुदे माग, पार्टीको नीति, विचार सिद्धान्त र जनजीविकाका विषयलाई आन्दोलनकै रुप दिइ आवश्यकता अनुसार कार्यक्रम तय गर्न र आ-आफ्नो क्षेत्रमा संगठन सुदृढीकरणको अभियान सन्चालन गर्न सबै प्रदेश र जिल्ला कार्यसमितिलाई निर्देश गरिएको छ।
५. इलाम र बझाङ्मा हालै सम्पन्न उपनिर्वाचनमा राप्रपाका उमेदवारको पक्षमा मतदान गर्नुहुने मतदाताप्रति राप्रपा धन्यवाद र कृतज्ञता प्रकट गर्दछ। उपनिर्वाचनको परिणाम पार्टीका लागि सुखद रहेन मात्रै होइन अनपेक्षित हुन पुग्यो । निर्वाचनको परिणाम पार्टीको पक्षमा नहुनुमा कमजोर संगठन प्रमुख कारण रहेकाले आगामी दिनमा संगठन सुदृढीकरणका कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको छ।
६. राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाण्डौंमा बस्नेछ ।
७. राप्रपाकी प्रतिनिधिसभा सदस्य माननीय गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सन्चारमाध्यममा सार्वजनिक भएकोमा सो सम्बन्धि छानविनमा सघाउ पुऱ्याउन मा.गीता बस्नेतलाई निर्देशन दिइएको छ । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निश्पक्ष छानविन गर्न र सहकारीको रकम अपचलन सम्बन्धि त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरुमाथि पनि स्वतन्त्र छानविन गर्न राप्रपा सरकारसंग माग गर्दछ।

मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख

२० बैशाख २०८१