FLASH NEWS

रविको बचाउमा ओलीको प्रश्नः कांग्रेसको पछि लाग्दा प्रधानमन्त्री बन्न लायक, नत्र सहकारीको भ्रष्टाचारी ?


नेपाल आवाज २९ बैशाख २०८१, शनिबार १९:२७ मा प्रकाशित ८८९ पाठक संख्या

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री दिँदा पनि सम्झौता नगरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कांग्रेसले सहकारी ठगको आरोप लगाएको बताएका छन् ।


आज (शनिबार) पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा सभापति लामिछानेले डेढ वर्षका लागि प्रधानमन्त्री बनिदिने कांग्रेसको प्रस्ताव अस्विकार गर्दा सहकारी ठगको आरोप लगाएको र संसद्बाट जवाफ दिनसमेत नदिएको बताएका हुन् ।

‘कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ । कागज लिएर सम्झौता गरौँ भन्न जान्छ राति । सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ ।’ उनले भने, ‘रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो । कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो कांग्रेस ?’

साथै, कांग्रेसले लोकतन्त्रको मूल्य मान्यता बिर्सिएको उनको टिप्पणी छ ।