FLASH NEWS

ओझेलमा सर्लाहीका पर्यटकीय क्षेत्र


नेपाल आवाज ६ जेष्ठ २०८१, आईतवार ०९:४६ मा प्रकाशित ६३७ पाठक संख्या

सर्लाही । सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् । स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण कम हुँदै गएको छ ।


जिल्लामा विविध महत्त्व बोकेका पर्यटकीय स्थलहरु भएपनि अधिकांश पर्यटकीय स्थलको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन ।

पर्यटकीय स्थलको विकास तथा प्रचार प्रसारका लागि बर्सेनी बजेट विनियोजन भएपनि स्थानीय तह आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा चुकेका छन् । स्थानीय तहले संरक्षणमा चासो नदिँदा पर्यटकीय स्थल ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

मधेश प्रदेश कै अग्लो स्थानमा रहेको पर्यटकीय स्थल राजारानी थूम्कोमा पछिल्लो समय पर्यटक जानै छाडेका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित ईश्वरपुर नगरपालिका १२ घारीबथानमा रहेको थूम्को प्रचार प्रसारको अभावमा पछिल्लो समय ओझेलमा पर्न थालेको छ ।

कुनै समय युवायुवती समूहमा वनभोज खाने र मनोरञ्जनका लागि पुग्ने थूम्को स्थानीय तहले नै संरक्षणमा चासो नदिँदा ओझेलमा परेको त्यहाँका स्थानीय बताउँछन् । थूम्कोमा धेरै पहिले राजारानी आएर बसेका कारण यसको नाम राजारानी थुम्को कायम गरिएको स्थानीय बूढापाका बताउँछन् ।

यस्तै अर्को पर्यटकिय महत्त्व बोकेको हरिपुर नगरपालिका ४ फरहदवास्थित ऐतिहासिक एवम् धार्मिक महत्त्वको जंगमुक्तेश्वर तथा हिरण्य गर्भेश्वर महादेवको जोर लिंगसहितको मन्दिर पनि ओझेलमा पर्दै गएको छ । राणा शासनका तत्कालीन श्री ३ जंगबहादुरले देहत्याग गरेको स्थानमा वीर शमशेरले बनाएको मन्दिर प्रचार प्रसारको अभावमा दर्शनार्थी पुग्न छाडेका छन् । यहाँ पनि स्थानीय तहको बेवास्ताका कारण यो मन्दिर ओझेलमा परेको छ ।

यी क्षेत्रको संरक्षण एवम् व्यवस्थापनमा स्थानीय तह जुटे पर्यटनको आकर्षक क्षेत्र बन्ने सम्भावना छ । यसका लागि स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्व विभागले संरक्षण र प्रचारमा जोड दिनु आजको आवश्यकता बनि सकेको छ ।