FLASH NEWS

स्वतन्त्र प्रेसबिना स्वतन्त्र न्यायपालिकाको कल्पना गर्न सकिँदैनः प्रधानन्यायाधीश श्रेष्ठ


नेपाल आवाज १२ जेष्ठ २०८१, शनिबार १२:२३ मा प्रकाशित ५६५ पाठक संख्या

काठमाडौं- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताएका छन्।


शुक्रबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले न्यापालिका र सञ्चार जगत लोकतन्त्रका महत्त्वपूर्ण आधारस्तम्भ भएको बताए।

उनले न्यापालिका र सञ्चार जगतको अभावमा लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गरे।

उनले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानुनको शासन समृद्ध बन्न नसक्ने बताए।

प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधानको प्रश्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसाथ गरेको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एकअर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रुपमा लिने गरिएको बताए।

उनले न्यायपालिका र सञ्चार क्षेत्रको भुमिका र जिम्मेवारी फरक भएपनि लक्ष्य, उद्देश्य एउटै रहेको पनि बताए।

न्यायपालिकाको जिम्मेवारी, भुमिका र कार्यप्रगति विशिष्ट र संवेदनशील हुने भएकाले न्यायपालिकाको कार्यप्रकृति र त्यसको संवेदनशीलताका बारेमा सञ्चारजगतलगायत संवद्ध सबैमा सोहीअनुरूपको दृष्टिकोण रहनु वाञ्छनीय हुने प्रधानन्यायाधीश श्रेष्ठकाे भनाइ छ।

उनले सञ्चारमाध्यमबाटै न्यायपालिकाको काम कारबाही र फैसलाको यथार्थ अवस्था आम नागरिकसमक्ष पुग्ने बताए।