FLASH NEWS

सशस्त्रको सुरक्षा युनिट हुदै भित्रिएको सामान भन्सारकाे नियन्त्रणमा, प्याज तस्करको ट्रान्जिट प्वाइन्ट त्रिलोकपुर नाका


नेपाल आवाज २९ जेष्ठ २०८१, मंगलवार ११:०० मा प्रकाशित ७९९ पाठक संख्या

भैरहवा ।  भैरहवा भन्सार कार्यालयले ३ पिकअप अवैध सामान बरामद गरेको छ । चोरी पैठारी हुदै गरेको अवस्थामा भन्सारको टोलीले २ पिकअप प्याज र १ पिकअप कपडा बरामद गरेको हो । बरामद सामान मर्चवार क्षेत्रबाट अवैध रुपमा नेपाल प्रवेश गरेको हो ।


चोरी निकासी भइरहेको छ भन्ने सूचना आएपछि भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमको नेतृत्वको टोलीले आइतबार राती मर्चवारको गैरगट्टीबाट प्याज सहितको २ ट्रक र रुपन्देहीको सियारी अमुवाबाट १ पिकअप कपडा, कस्मेटिकका सामान बरामद गरेको हो । गौतमका अनुसार मर्चवार क्षेत्रबाट अवैध कारोबार भइरहेको खबर आउनासाथ  राति साढे १२ बजेको समयमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिबाट लु १ च ६४३० र लु १ ख ४५४६ नम्बरको मिनी ट्रकबाट १४० बोरा प्याज सहित गाडी नियन्त्रणमा लिएको बताए । भन्सार गश्ती टोलीलाई देखेपछि गाडीका  दुईवटै चालक फरार भएका थिए । प्याज त्रिलोकपुर नाकाबाट आएको हो, अहिले यो नाकाबाट आधा दर्जन बढि पिकअपमा प्याजको तस्करी हुने गरेकोे छ ।

यस्तै भैरहवा भन्सार गश्ती टोलीले अमुवाबाट लु १ च ४७९२ नम्बरको ट्रकसहित भन्सार छलि गरिएका भित्रि बस्त्र, मोजा र बेल्ट (पेटी), टेप्पर ग्लास, लेडिज सेन्डल लगायतका सामान पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–७ का ट्रक चालक अब्दुल अन्सारी पनि पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शुन्य छ भनिरहदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने ठोस प्रमाण हो । रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरु आएसँगै अवैध बस्तु नियन्त्रण ठूलो मात्रामा हुने गरेपनि यो संख्या अहिले निकै घटेको छ ।

सयौँ सुरक्षा संयन्त्र हुदा पनि सुरक्षा टोलीले समान नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरी माथी शंकाको प्रश्न हो । यदि शंका नभए अहिले सम्म सुरक्षा निकायले किन समात्न सकेको छैनन । सुरक्षा निकाएले खुला सिमाना नै चुनौती रहेको बताउदै गर्दा आम सर्वसाधरणले घरयासी प्रयोजनका लागि ल्याउने सामानमा कडाई गर्ने गरेको प्रहरीले तस्करहरुलाई छुट गरेको पाइन्छ ।

सुरक्षा निकायले थोरै मात्रामा सामानहरु बरामद गरेर कार्यसम्पादन देखाएपनि ठूला तस्करहरुलाई छुट सरह छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । जिल्लाका सुरक्षा प्रमुखहरु फेरिएसँगै दैनिक जसो ठूलो परिमाणमा अवैध बस्तु बरामद भएपनि अहिले यो क्रम घटेको छ । अहिले फाटफुट र न्यून मात्रामा मात्रै अवैध सामान बरामद भइरहेको छ ।

भन्सार प्रमुख गौतमले हामीले पाएको गोप्य सूचना र लोकेशनको आधारमा सक्रियता बढाएका छौ । आइतबार मात्रै ३६ लाख ८० हजार मुल्य बराबरको अवैध सामान र गाडी नियन्त्रणमा लिएका हौ । गस्ती टोलीले पनि छड्के निरिक्षण गदै अवैध गतिविधीलाई न्यूनिकरण गर्ने तर्फ भन्सार कार्यालय लागेको छ । भारतले प्याज निर्यात खोलेपनि निर्यात कर धेरै भएपछि तस्करहरुले अवैध रुपमा प्याज नेपाल भित्रयाइरहेका छन । जुन रुपमा भन्सारबाट प्याज आउनु पर्ने हो त्यो अवस्था अहिले छैन ।

रुपन्देहीका विभिन्न नेपाल–भारत सिमा  क्षेत्रहरुबाट भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेका छन । मुद्रास्फीति नियन्त्रणका लागि भारतले समय समयमा प्याज निर्यातमा प्रतिबन्ध लगाउदै आएको छ, जस्को फाइदा सिमा क्षेत्रका तस्करहरुले लिइरहेका छन । प्याज निर्यातमा प्रतिबन्ध भएपछि सिमामा अवैध रुपमा प्याजको कारोबार हुने गरेको छ । अहिले भने निर्यात प्रतिबन्ध भारतले हटाएर निर्यात कर लगाएपछि तस्करहरु अवैध कारोबारमै लिप्त छन ।

अवैध रुपमा प्याज आइरहेको पुष्टि विगतका २ महिनामा रुपन्देहीका सुरक्षा निकायले बरामद गरेको अवैध प्याजको परिमाणले देखाउछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले विभिन्न नाकाबाट केही महिनामै लाखौँ बढी मूल्यको प्याज बरामद गरेको छ । तर अहिले भने नगन्यमात्रामा मात्रै प्याज बरामद भइरहेको छ ।

भारतले २०२३को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अहिले मईबाट निर्यात खोलेको छ । प्रतिबन्ध हटेपनि प्याजको निर्यातमा करिब ४० प्रतिशत निर्यात शुल्क लगाएको  छ जसले प्याजका तस्करहरु अझै सक्रिय छन ।
नेपालले भने प्याजको आयातमा कुनै रोक लगाएको छैन । जसका कारण वैधानिक बाटोबाटै पनि प्याज आयात गर्न सकिने अवस्था रहेको छ । ‘ वैधानिक बाटोबाट आएको प्याजलाई भन्सारले नियम बमोजिम भित्रिन कुनै रोकटोक गर्दैन ।’
भैरहवा भन्सारबाट पछिल्लो ५ महिनामा प्याजको आयात नै थियो भारतले निर्यात हटाएपछि केहीमात्रामा भने प्याज भित्रिएको छ । भन्सारको बाटोबाट ल्याउँदा राजश्व तिर्नुपर्ने भएकाले तस्कर समूहले तस्करी गर्दै आएको दाबी सुरक्षा निकायको छ ।

भारतका सिमावर्ती क्षेत्रमा प्याजको मूल्य नेपालमा भन्दा धेरै सस्तो भएकाले पछिल्लो समयमा खुला सिमानाकाको फाइदा उठाउदै अवैध आयात बढेको हो । भारतमा सरदर प्रति किलो २० रुपैया भारुमा प्याज फुटकर विक्री भएको छ भने नेपाल तर्फ सरदर ६५ रुपैयामा कारोबार भइरहेको छ । व्यापारीले अवैध रुपमा भित्र्याएर महँगोमा प्याज बिक्री गरी उपभोक्ताको ढाड सेक्दा समेत नियामक निकाय मौन बसेको छ । भारतको प्रतिबन्धपछि पनि नेपाली बजारमा प्याज छ्याप्छ्याप्ती छ । अधिकांश प्याज अवैध रुपमा आएको हो ।

रुपन्देहीको विभिन्न नाकाबाट साइकल, मोटरसाइकल र इरिक्सामा प्याज तस्करी भइरहेको छ भने ठूला तस्करहरुले पिकअप र मिनी ट्रकमा प्याज भित्रयाईरहेका छन । तस्करका भरियाहरुले एउटै साइकल तथा मोटरसाइकलमा ३÷४ वटा बोरासम्म प्याज ल्याउने गरेका छन् । भारतबाट अबैध रुपमा बच्चादेखि युवासम्म, महिलादेखि वृद्धसम्मले दैनिक रुपमा प्याज ओसार्ने गरेका छन् । दिनहुँ खुलेआम प्याज तस्करी हुँदासमेत सरोकारवाला निकाय मौन छन् ।

सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी प्याज ल्याउने गरेको तस्करहरुको भनाइ छ । अहिले रुपन्देहीको त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, सेमरपानी, भगवानपुर, मेउडिहवा, नौडिहवा, कालिदह नाका तस्करहरुको मुख्य नाका रहेको छ । भारतिय बजारभन्दा नजिकै पर्ने भएकोले तस्करहरुको रोजाईमा यि नाकाहरु रहेका छन ।

एउटै नाकामा धेरैको नजर रहेकोले बाडिएर काम गरेका तस्करहरु अहिले समूह समूहमा भई काम गरिरहेका छन । समूहमा एक जना टोली नेता बनाई उही मार्फत लाइन र सेटिङ गरिरहेका छन । उनीहरुले एसपीका घुमुवाहरु मार्फत लाइन मिलाएको बताइरहेका छन ।

सिमाक्षेत्रबाट आएका प्याज बसन्तपुर, गल्लामण्डी लगायतका क्षेत्रमा डम्प गरी जिल्ला बाहिर पठाउने गर्छन । कतिपयले भण्डार गरेर राखेर नक्कली कागजात बनाई काठमाडौंसम्म पठाउने गरेका छन् । खुलेयाम प्रहरीको संरक्षणमा तस्करी हुँदा दैनिक लाखौं राजस्व गुमेको छ । ‘सीमित व्यक्तिको स्वार्थले गर्दा राज्यलाई लाखौं राजस्व घाटा भइरहेको छ । एकातर्फ राजस्व गुमेको छ नै, मानव स्वास्थ्यमासमेत नकारात्मक प्रभाव पार्ने गरेको छ । विषादी परीक्षणविनै यि प्याज धमाधम तस्करीको माध्यमबाट नेपाल भित्रिँदा यो सिधै उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । यसले मानव स्वास्थ्यलाई पनि दीर्घकालीन असर गर्ने पलान्ट क्वारेन्टाइनलेले जानकारी दिएको छ  ।

बिरबहादुर जयसवाल, नरेश जयसवाल(टासे), प्रविन जयसवाल, मनोज यादव, प्रेम यादव, गौरी लगायतका तस्करहरुको एक समूह छ भने सुदेश जयसवाल, राकेश जयसवाल, सहाबुद्दीन फकीर, रामवेलाश जयसवाल, रामशरन यादवको अर्को समूह छ । यस्तै पिन्टु यादव, पप्पु, पवन, नारायण, गुड्डुको नेतृत्वमा पनि समूह छ । यी समूहले जिल्लाका सबैलाई मिलाएर काम गरिरहेको दाबी गर्छन । समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकका प्रहरीहरु मार्फत काम भइरहेको बताउछन ।

समूहले काम गर्ने नाका क्षेत्रमा पर्ने सबै चौकी, इलाका प्रहरी, विओपी र सुरक्षा निकायका प्रमुख समेतलाई सेटिङ गरेको बताउछन । हामीले मासिक बुझाउछौ तर उताबाट कपडाको काम गर्न नदिने आदेश छ,  अरु कामका लागि सेटिङ भएको नाम नबताउने शर्तमा माथी उल्लेखित एक तस्करले भने । एउटा समूहले मात्रै १५ लाख बढि मासिक सेटिङमा खर्चेको दाबी गरेको छ ।