FLASH NEWS

रुसमा गयो ७.० म्याग्निच्युडको भूकम्प, भयानक ज्वालामुखी बिष्फोटको धुवाँँ ८ किमी माथीसम्म


नेपाल आवाज २ भाद्र २०८१, आईतवार १६:०४ मा प्रकाशित ३००१ पाठक संख्या

मस्को, २ भदौं  । रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ ।


 

भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो ।

रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो ।

 

यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्ककमचात्स्कीबाट ४५० किलोमिटर टाढा छ। यो सहरको जनसंख्या १ लाख ८० हजार छ । यद्यपी विष्फोटबाट कुनै पनि मानवीय वा धनमालको क्षतिको खबर प्राप्त भएको छैन ।

 

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभलोभस्क कमचात्स्की शहरबाट ८८ किलोमिटर टाढा समुन्द्रमा रहेको जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दुको गहिराई ४८ किलोमिटर थियो । अमेरिकाको सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरको दायराभित्र सुनामीको चेतावनी जारी गरेको छ ।

 

शिवेलुचमा गत वर्ष पनि विस्फोट भएको थियो, सन् १९९९ देखि लगातार लाभा निस्किरहेको छ । शिवेलुच रूसको सबैभन्दा सक्रिय ज्वालामुखी हो। गत वर्ष अप्रिल ११ मा पनि विस्फोट भएको थियो । यसपछि खरानी र धुवाँको २० किलोमिटर अग्लो बादल उठ्यो । यो धुवाँ १ लाख ८ हजार वर्ग किलोमिटरमा फैलिएको थियो ।

 

शिवेलुचमा सन् १८५४ र १९६४ मा विष्फोट भएको थियो, जसले लाभाको ठूलो भागको पतन गराएको थियो। यसपछि १५ अगस्ट १९९९ मा यंग शिवलुचमा विस्फोट भएको थियो । त्यसयता यो निरन्तर सक्रिय छ र लाभा फुकिरहेको छ।

 

२७ फेब्रुअरी २०१५ मा पनि शिवेलुचमा भीषण विष्फोट भएको थियो । विस्फोट यति शक्तिशाली थियो कि खरानी अलास्कामा ९,१०० मिटर टाढा खसेको थियो। रिपोर्टका अनुसार रूसमा कुल ६१ सक्रिय ज्वालामुखीहरू छन्।