FLASH NEWS

राप्रपाको प्रेस विज्ञप्ति : देशभरका मौसमि घटनामा विपदको सामना गर्न सरकारलाई ध्यानाकर्षण


नेपाल आवाज १३ आश्विन २०८१, आईतवार ०८:०३ मा प्रकाशित १५२५ पाठक संख्या

राप्रपाको प्रेस विज्ञप्ति


अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट जनधनको क्षति हुन पुगेको घटनाबाट राप्रपा अत्यन्तै दु:खी भएको छ । अविरल वर्षाको वितण्डाबाट ज्यान गुमाउन पुगेकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु, शोकाकुल परिवारमा समवेदना र घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

वर्षाका कारण राजधानी छिर्ने सडक मात्रै होइन देशभरका दर्जनौं सडक, पुल र राजमार्ग बन्द हुँदा सवारी आवागमनमा कठिनाइ उत्पन्न भएको छ। कैयन् भौतिक संरचना क्षतिग्रस्त बन्न पुगेको छ भने नागरिकको निजी सम्पत्ति तहसनहस बन्न पुगेको छ । कैयन ठाऊॅमा किसानले भित्र्याउने बेलाको बाली पूर्णरुपमा नष्ट हुन पुगेको छ। अस्वभाविक वर्षा, बाढीपहिरो र डुबानबाट जनजीवन त्रसित र अस्तव्यस्त बन्न पुगेको छ ।

अविरल वर्षाका कारण ज्यान गुमाएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, संकटमा परेका नागरिकको उद्धार, पुन:स्थापना र घाइतेको नि:शुल्क उपचार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउॅदछौं । क्षतिको विवरण संकलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तीन तहकै सरकारको प्रभावकारी अग्रसरता हुनुपर्दछ। विपदको यो घडीमा राप्रपा सरकार र आम जनसमुदायको साथमा छ । सबै मिलेर यो विपदको सामना गरौं ।

विपदसंग जुधिरहेका आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुन:स्थापनामा जुट्न देशभरका हाम्रो पार्टीका सदस्यहरुलाई हार्दिक आह्वान गर्दछु । साथै, प्रवासमा रहेका नेपालीहरु र पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसका सदस्यहरुलाई प्राकृतिक प्रकोपको यो विपत्तिमा साथ, सहयोग र हातेमालो गर्न हार्दिक अपील गर्दछु ।

राजेन्द्र लिङ्देन
अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी

१२ असोज २०८१