FLASH NEWS

नाममात्रको राप्रपाको वेबसाईट ! अन्य पार्टिको वेबसाईटको यस्तो हालत ( पूरा विवरण )


नेपाल आवाज १० पुष २०८१, बुधबार १८:०६ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टि ( राप्रपा ) ले नेतृत्व परिवर्तन गरि नयाँ नेतृत्वमा राजेन्द्र लिङ्ग्देनलाई चयन गरेको निक्कै लामो समय भईसकेको छ। राप्रपाको प्रचार विभागमा नयाँ र पुरानै नेतृत्वमा समेत वर्षौं देखि प्रचार विभाग सम्हालेका प्रचार विभाग प्रमुख रहेका छन् राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ।


प्रचार विभागको काम भनेको पार्टिको प्रचारलाई तिब्रता दिनु अन्तर्गत पर्नेगर्छ तर राप्रपा प्रचार विभागको कमजोरी धेरै कुराहरुमा देखिएको छ। करिब एक वर्ष अघिदेखि नै राप्रपा प्रचार विभागको सहयोग र समर्थन नपाएको भन्दै सामाजिक संजालमा नै केहि युवाहरुको आक्रोश देखिन्थ्यो जस्लाई राप्रपाको उपनिर्वाचनमा आएको मत परिणामले थप प्रमाणित गर्यो।

समग्र प्रचार प्रसारमा सहयोग नपुगेपछि राप्रपाले आईटि र डिजिटल टिम भनेर गठन गर्यो जसको नेतृत्व उद्धव राज भेटवालले गरेको पनि निक्कै महिना बित्यो तर राप्रपाको वेबसाईट र डिजिटल अवस्था भने दुखलाग्दो छ। राप्रपाको आधिकारिक वेबसाईट https://rpp.org.np/ मा हेर्ने हो भने पार्टि अधक्षको फोटो र एउटा लिंक जुन थिच्दा एउटा फारम खुल्छ , त्यो बाहेक अरु कुनै उपलब्धि नदेखीएको नै वर्षौं वितिसकेको छ।

एक श्रोतका अनुसार उक्त वेबसाईट निर्माणमा पार्टिले राम्रै रकम खन्याएको छ तर उपलब्धि भने चित्त बुझ्दो देखिन सकेको छैन। वर्षौं देखि डिजिटल उपस्थिति देखाउन नसक्नु र एउटा वेबसाईट समेत पूरा गर्न नसक्नुले समग्र पार्टि कसरि चलिरहेको होला ? भन्ने अनुमान लगाउन सकिन्छ।

एक वेबसाईट निर्माण गर्न लाग्ने समय भनेको केवल १ देखि ३ महिना हो। उत्तिकै अवस्थामा त एक हप्तामै पनि वेबसाईट निर्माण हुन्छ तर यहाँ वर्षौं देखि एउटा वेबसाईट समेत बन्न नसकेको गुनाशो पार्टीकै नेताहरु गर्नेगर्छन्।

” नारामा ठूला-ठूला कुरा गर्ने तर एउटा वेबसाईट निर्माण गर्न नसक्ने र आफ्नो पार्टि र आफ्ना नेताहरुको प्रचार गर्न नसक्ने प्रचार विभागकै कारण पार्टिको उपनिर्वाचनमा लज्जास्पद परिणाम आएको हो। ” एकजना नेताले नेपालआवाजसंग यसरि गुनाशो गरे।

अन्य पार्टीको अवस्था कस्तो ?

एमालेको वेबसाइटमा इतिहासदेखि वर्तमानसम्मका दस्ताबेज, साङ्गठनिक संरचना, विचार प्रधान लेख, दैनिक गतिविधि लगायत सूचना चुस्त दुरुस्त राखिएको छ । वेबसाइट समेत आकर्षक देखिन्छ ।

त्यसमा पार्टीसम्बन्धी लगभग सबै सूचना र गतिविधि सजिलै भेट्न सकिन्छ ।

यसैगरी कांग्रेस पार्टीको वेबसाईटमा पनि आधिकारिक सूचना प्रकाशन, प्रसारण लगायत विषयमा नियमित अपडेट विभागले नै गरिरहेको छ। नेकपा माओवादीको पनि वेबसाईट चलनचल्तिमै देखिन्छ।

सामाजिक सञ्जालमा बढी सक्रिय रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विकसित हुँदै गएको प्रविधि, सञ्चार माध्यम, सामाजिक सञ्जाललाई ध्यान दिएर पार्टीले नियमित गतिविधि गरिरहेको देख्न सकिन्छ तर राप्रपा मात्र एक यस्तो दल हो जसको हालसम्म वेबसाईट नै संचालनमा आउन सकेको छैन।