FLASH NEWS

विपक्षी दलहरूले सरकारको कामकाजबारे साझा धारणा बनाउन गठन गरे दुई सदस्यीय कार्यदल, बिहीबार सार्वजनिक गर्ने


नेपाल आवाज २ माघ २०८१, बुधबार ११:५१ मा प्रकाशित १९ पाठक संख्या

काठमाडौँ । विपक्षी दलहरूले सरकारको कामकाज र नीतिहरूमा साझा धारणा बनाउन दुई सदस्यीय कार्यदल गठन गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा यो निर्णय गरिएको हो।


कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेका छन्। नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठका अनुसार, सरकारले संसद् लाई बेवास्ता गर्दै अध्यादेशमार्फत अलोकतान्त्रिक र स्वेच्छाचारी शासन चलाउन खोजिरहेको भन्दै दबाब सिर्जना गर्ने उद्देश्यले साझा ड्राफ्ट तयार गर्ने निर्णय गरिएको हो।

श्रेष्ठले भने, “कार्यदलले बेलुकासम्म ड्राफ्ट तयार गर्नेछ र भोलि पत्रकार सम्मेलनको माध्यमबाट यसलाई सार्वजनिक गर्ने सहमति भएको छ। पत्रकार सम्मेलनमा प्रमुख नेताहरूले पनि विचार प्रस्तुत गर्नेछन्।”

यस ड्राफ्टमा सरकारद्वारा ल्याइएका अध्यादेशहरू, ६ महिनाको कार्यसम्पादन, संसद् अधिवेशन बोलाउने विषय र समसामयिक मुद्दाहरू समेटिने कुरा पनि श्रेष्ठले बताएका छन्।