FLASH NEWS

कांग्रेस पदाधिकारी बैठकले भन्योः आतंकवादविरुद्ध अप्रेसन सिन्दूर जायज


नेपाल आवाज २६ बैशाख २०८२, शुक्रबार १२:१८ मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पहलगाम हमलापछि भारत र पाकिस्तानबीच देखिएको तनावका विषयमा औपचारिक छलफल गरेको छ । आज बसेको पदाधिकारी बैठकपछि भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको प्रवक्ता प्रकाशशरण महतले बताए ।


भारत पहलगाममा आतंककारी आक्रमणपछि विकसित परिस्थितिमा आतंकवादको खिलापमा भएको कारवाही जायज भएको बताए । उनले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं ।’

उनले आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानले भारतीय जनतामाथि आक्रमण भएको विषयमा चिन्ता व्यक्त गरे । नेपाली कांग्रेस सधैँ आतंकवाद निरुत्साहित गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले भारत पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा रहेको बताए ।

नेपाली कांग्रेस कसको पक्षमा भन्ने प्रश्नमा उनले भने, ‘हामी आतंकवादी गतिविधि भयो त्यसको विपक्षमा उभिने हो । आतंकवादलाई संरक्षण गर्ने प्रवृति हुनुहुन्न भन्ने हाम्रो प्रष्ट धारणा हो ।’