काठमाडौ, २६ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिर्ने तयारी गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठका अनुसार, जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलगायत नेताहरूले पुगेर आजै जरिवाना तिर्ने तयारीमा छन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा सार्वजनिक सम्पत्ति तोडफोड र फोहोर गरेकोसहित विभिन्न शीर्षकमा काठमाडौं महानगरले पूर्वराजा शाहका नाममा सात लाख ९३ हजार जरिवानाको पत्र काटेको थियो ।
त्यसपछि राजावादीको एक समूहले सामाजिक सञ्जालमार्फत चन्दा संकलन गरेको थियो । चन्दा संकलनबाट उठेको रकममध्ये सात लाख ९३ हजार जरिवाना तिर्ने र बाँकी रुपैयाँ समितिले नै खर्च गर्नेछ ।
“जरिवाना राप्रपाले तिर्ने होइन । राजावादी साथीहरूले संकलन गरेको रुपैयाँ हिजो सुवेदीलाई बुझाएका छन् । आज गएर महानगरमा बुझाउने हो,” उनले भने ।