FLASH NEWS

शून्य समय : किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग


नेपाल आवाज २६ बैशाख २०८२, शुक्रबार १६:१२ मा प्रकाशित ६१ पाठक संख्या

काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभामा सांसदहरुले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या झेलिरहनुपरेको बताएका छन् ।


प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले काभ्रेपलाञ्चोकको पनौती, बेथानचोक, लोसी र तिमाल सिन्धुलीको कुशेश्वरलगायत देशका विभिन्न स्थानमा भएको बाढी पहिरोपीडितले आठ/नौ महिनसम्म पनि राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले बजेट निर्माण पहुँचका आधारमाभन्दा पनि आवश्यकताको आधारमा गन माग गरे । सांसद सूर्यबहादुर थापाले देशभर अधुरै रहेका पक्की पुल निर्माण गर्न बजेट सुनिश्चितताको माग गरे । बर्दियाको नगदीघाटस्थित पुलको स्रोत सुनिश्चिता भए पनि अझै ठेक्का लाग्न नसकेको उनले बताए ।

सांसद हरि ढकालले नेपाल राष्ट्र बैंकको नेतृत्व नियुक्तिलाई राजनीतिकरण नगर्न आग्रह गरे । सांसद हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गर्नुभएको आर्थिक विवरणले आमजनतामा अन्योल सिर्जना गरेकाले प्राधिरकणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

सांसद हेमराज राईले विपत् व्यवस्थापनअन्तर्गत बनेका घरका लागि सङ्घीय सरकारले दिनुपर्ने रकम जतिसक्दो चाँडो उपलब्ध गराउन सरकारसँग माग गराए । सांसद हृदयराम थानी र ज्ञानु बस्नेत सुवेदीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।