काठमाडौँ, २६ वैशाख । १० दिनपहिले नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन् । नगरकोटको सोल्टी वेस्टएन्ड रिसोर्टमा बसेर उनले राजावादी दल र अभियान्ताहरूसँग छलफल गरेका हुन् । वैशाख १५ गते निर्मल निवासबाट उनी नगरकोट पुगेको सुरक्षा स्रोतले पुष्टि गर्यो । उनी सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरीका डीएसपीसहितको सुरक्षा टोली लिएर नगरकोट पुगेका हुन् ।
नगरकोटमा बसेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई भेटेका छन् । प्रहरी उच्च स्रोतले भन्यो, ‘१० दिनदेखि होटलमा राजावादी नेताहरूको चहलपहल बाक्लो छ । दुवै दलका शीर्षनेताहरू पुगेका छन्। हामीले बाहिरबाट वाच गर्ने मात्रै हो, भित्रको सुरक्षा सशस्त्र प्रहरीले हेर्छ। तर त्यहाँ पूर्वराजा गएदेखि नै राजावादी दलका नेताहरूको ओहोरदोहोर बाक्लो छ ।’
यसअघि राजावादी दलहरू एकजुट नहुँदा राजावादी आन्दोलन नै कमजोर भएपछि त्यहाँ बसेर उनले नयाँ रणनीति बनाउन थालेका छन् । उनले नगरकोटमा छलफल थालेको १० दिनपछि बिहीबार मात्रै राजावादी शक्तिहरू एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि भन्दै गठन गरेको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राप्रपा र राप्रपा नेपालका अध्यक्षलाई छेउमा राखेर आन्दोलनको घोषणा गर्दै यसमा राजावादी सम्पूर्ण शक्तिहरू एकजुट हुने दाबी गरेका छन् ।
घोषणा कार्यक्रममा राजेन्द्र लिङ्देन र कमल थापा पनि सहभागी थिए । कार्यक्रमपछि राप्रपा नेपालका अध्यक्ष थापाले पहिलोपटक हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका निम्ति सबै शक्तिहरू एकजुट भएको दाबी गरेका छन् । थापाले राप्रपा नेपालसँगै, राप्रपा, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेना लगायत ४४ समूह एकजुट भएको बताएका छन् ।
तीनकुनेको प्रदर्शनको नेतृत्व गरेका प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै हिरासतमा छन् । उनीहरूसहित २५ जनालाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो । आन्दोलनकारीले सरकारी तथा व्यक्तिका सम्पत्तिमा तोडफोड र आगजनी गर्दा सहानुभूति गुमाएको राजावादी आन्दोलन उठाउन एक महिनापछि पूर्वराजा शाह आफै सक्रिय भएका हुन् ।