काठमाडौँ, २७ वैशाख । जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । यो अपिल दुई देशबीच सैन्य टकराब बढिरहेका बेला आएको हो ।
क्यानडाका तर्फबाट जारी विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मु कश्मीरको पहलगाममा पर्यटकलाई भएको आक्रमणको कडा निन्दा गरेका छन् ।
यसका साथै जी-७ देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् ।
जी-७ को विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ- दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढून् ।’ जी-७ विश्वका सात देशहरूको समूह हो, जसमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका छन् ।
जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ कारबाही चलाइरहेको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध अपरेसन बुन्यान अनमार्सुसु थालिएको बताएको छ ।