काठमाडौं, २७ वैशाख। भारतका विदेशसचिव विक्रम मिश्रीले आफ्नो देश र पाकिस्तानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार (मे १०) साँझ ५ बजेदेखि युद्धविराममा सहमति लागु भइसकेको छ ।
उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ)ले स्थानीय समयानुसार शनिबार दिउँसो आफ्नो भारतीय समकक्षीसँग फोनवार्ता गरेका थिए । त्यसक्रममा भारतीय समयानुसार साँझ ५ बजेदेखि दुवै पक्षले ‘सबै गोलाबारी र सैन्य कारबाही रोक्ने’ सहमति भएको थियो ।
दुई देशका महानिर्देशकले सोमबार फेरि छलफल गर्ने तय भएको उनले पत्रकार सम्मेलनक्रममा बताएका सीएनएनले जनाएको छ ।
यसअघि, पाकिस्तानका विदेशमन्त्रीले दुवै देश युद्धविराम गर्न सहमत भएका बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराममा सहमत भएका घोषणा गरेका थिए ।