FLASH NEWS

भाषा र स्नातक अध्ययनका लागि कोरिया जाने एनओसी बन्द


नेपाल आवाज २८ बैशाख २०८२, आईतवार १३:०५ मा प्रकाशित ६७ पाठक संख्या

काठमाडौं, २८ बैशाख । दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने नो अब्जेक्सट सर्टिफिकेट (एनओसी) बन्द गरिएको छ । सरकारले तत्कालका लागि एनओसी बन्द गरेको हो । सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी दिन बन्द गरिएको हो ।


अध्ययनका लागि भन्दै कोरिया जाने विद्यार्थीहरू विभिन्न समस्यामा फस्ने पाइएको भन्दै दूतावासले एनओसी रोक्न माग गरेको थियो । विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जानेबित्तिकै अवैधानिकरूपमा भनए पनि काम गर्न पाइन्छ भनेर आश्वासन दिने गरेको र उता गएपछि सोचेजस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा परेको दूतावासले उल्लेख गरेको छ ।

दूतावासले लेखेको पत्रमा भनिएको छ, ‘नेपालबाट डी फोर भिसामा कोरिया प्रवेश गर्दा भाषा अध्ययन सकेपछि कुन विश्वविद्यालयमा इनरोल हुने भन्ने कुरा नेपालबाट कन्सल्टेन्सीहरूले सुनिश्चित नगरिकन, आउनेबित्तिकै काम गर्न पाउने र पैसा यथेष्ट कमाउने झूटो आश्वासन दिएर पठाउने गरेका छन् ।

कन्सल्टेन्सीहरूले कलिला विद्यार्थीहरूको ब्रेनवास गरेर अवैधानिक तरिकाले भएपनि कोरियामा काम गर्न पाइन्छ भनेर कोरियाली सपनाको व्यापार गरेका छन् । डी फोर भिसाको नाममा अत्यधिक रकम असुली गर्ने, एउटै कामका लागि तीन/चार पटकसम्म पैसा उठाउने, कोरियामा भएका एजेन्टमार्फत कोठा खोजिदिने लगायत विभिन्न बहानामा फेरि पनि पैसा लिई लुट धन्दा नै चलाउने गरेका भनी समस्यामा परेका विद्यार्थीहरूबाट दैनिकरूपमा गुनासो आउने गरेको छ,’ ।

दूतावासले कन्सल्टेन्सीहरूले भनेजस्तो अवस्था नहुँदा र आर्थिक अभावले गर्दा १८/१९ वर्षका विद्यार्थीहरू ‘लिभिङ टुगेदर’ मा बस्ने र केही समयपछि शारीरिकरूपमा शोषणमा परेको भनी गुनोस गर्न आउने गरेको जनाएको छ ।