काठमाडौं, २९ वैशाख । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्तामा बस्न तयार रहेको बताएका छन् । उनले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टर्कीमा प्रत्यक्ष भेटघाट गर्न सहमत भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यो बैठक बिहीबार टर्कीमा हुने बताइएको छ ।
रुसका राष्ट्रपति पुटिनले वार्ताको प्रस्ताव रखेपछि उक्त प्रस्ताव स्वीकार गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई सार्वजानिक रूपमा दबाब दिएका थिए । ट्रम्पको दबाबपछि जेलेन्स्कीको यो भनाइ आएको हो ।
आगामी हप्ताको बिहीबार तय गरिएको उक्त वार्तामा रुसी राष्ट्रपति पुटिन आफैँ आउने हो वा प्रतिनिधि पठाउने निश्चित नभएको रोयटर्सले जनाएको छ ।
जेलेन्स्कीले पुटिनसँग भेट्न तयार भएको जवाफ दिनुले ४८ घण्टाभित्र आएको नाटकीय परिवर्तन मानिएको छ । किनभने सोमबारदेखि युरोपेली नेताहरूले जेलेन्स्कीसँग भेटेर ३० दिने युद्धविरामको माग गरेका थिए ।
“म बिहीबार टर्कीमा पुटिनको प्रतिक्षा गर्नेछु,” जेलेन्स्कीले सामाजिक संजाल एक्समा पोष्ट गर्दै भने । “मलाई आशा छ, यसपटक रूसीहरूले बहाना खोज्ने छैनन् ।” टेलिग्राममा उनका मुख्य सचिव एन्ड्री यर्मकले थपे, “पुटिनको के भयो ? उहाँ डराउनुभएको हो ? हामी हेर्नेछौँ ।”
युक्रेनी नेताले आइतवार दिउँसो प्रतिक्रिया दिएका थिए । यसअघि, रूसी राष्ट्रपतिले अमेरिकाको प्राइम टाइमसँग मेल खाएको समयमा राति प्रसारित टेलिभिजन सम्बोधनमा इस्तान्बुलमा आउँदो बिहीबार मे १५ मा प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका थिए ।