काठमाडौँ । पत्रकार एवं कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘उदीयमान नेता’ कार्यक्रमका लागि छनोट भएका छन् ।
विश्वको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयले विभिन्न देशमा नेतृत्वमा जान सक्ने सम्भावना भएका व्यक्तिहरूका लागि बनाएको ‘इमर्जिङ लिडर्स’ कार्यक्रममा सन् २०२५ का लागि नेपालबाट परियार छानिएका हुन् ।
उक्त कार्यक्रमका लागि उनी अहिले बोस्टनमा रहेको हार्वड विश्वविद्यालयको हार्वर्ड केनेडी स्कुलमा अध्ययनरत छन् । कार्यक्रममा विश्वको राजनीतिक परिवेश तथा मुद्दा, एजेन्डा छनोट, राजनीतिमा टेक्नोलोजीको प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्ट, द्वन्द्व व्यवस्थापनलगायत विषयमा हार्वड विश्वविद्यालयका प्राध्यापकहरूले पढाउँछन् ।
कार्यक्रममा नेपालसहित विभिन्न देशका ५० जना सहभागी छन् । जसमा विश्वका विभिन्न देशका राजनीतिकर्मी, सरकारी उच्च पदमा रहेका तथा निजी क्षेत्रको कार्यकारी पदमा बसेका व्यक्तिहरूको सहभागिता छ ।
परियार यसअघि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा पनि दुईपटक प्रेस सल्लाहकारको भूमिकामा थिए । अहिले पनि उनी पार्टीभित्र देउवाको प्रेस सल्लाहकार नै छन् । नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेका परियार पार्टीको केन्द्रीय जनसम्पर्क समन्वय विभागको सदस्य पनि हुन् ।
समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले अमेरिकी सरकारको छात्रवृत्तिमा अमेरिकाको ओहायो विश्वविद्यालयबाट अमेरिकन मिडिया र सञ्चार अध्ययन गरेका छन् ।