FLASH NEWS

रोशी खोलाले अवरुद्ध गराएको बिपी राजमार्ग खुलाउने प्रयास जारी


नेपाल आवाज ३० बैशाख २०८२, मंगलवार ११:२४ मा प्रकाशित ४९ पाठक संख्या

रामेछाप, ३० वैशाख । वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्‍याएको छ । सोमबार राति सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।


सडक खुलाउनको लागि सडक डिभिजन कार्यालयको डोजरले काम गरिरहेको छ । बाढीले काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी विन्दु अधिकारीले जानकारी दिइन् ।

हिजो राति सडकमा क्षति भएपछि आफू क्षति भएको स्थानमा जाँदै गरेको कार्यालयका प्रमुख सुमन योगेशले बताए ।

स्थानीय राज मैनालीका अनुसार बाढीले सडक उकास्न बाँकी रहेको रोशी खोला क्षेत्रमा क्षति पुर्‍याएको छ । ‘उकास्न बाँकी भई खोलामा डाइभर्सन बनाएको क्षेत्रमा क्षति गरेको छ, क्षति भएको ठाउँमा सडक निर्माणको काम भइरहेको छ, दिउँसो २ बजेसम्म सडक खुल्ला’, उनले भने ।

असोज महिनामा आएको बाढीले बिपी राजमार्गको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुगेको थियो । यो क्षेत्रमा अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन गरिएकोमा हिजो आएको बाढीले सडकमा क्षति पुर्‍याएको हो ।