काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको ३० रनको लक्ष्य हङकङले निर्धारित ४।३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । गएरातिको वर्षाका कारण मैदान भिजेपछि ढिला सुरु भएको खेल ५ ओभरमा छोट्याएर खेलाइएको थियो ।
हङकङका लागि ओपनर सन्जिन सहजाद १५ र यास्मिन डास्वानी ३ रनमा अविजित रहे। क्यारी चान र कप्तान नतासा माइल्स शून्य रनमा नै आउट भए । हङकङलाई अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा कविता कुवँरले पहिलो बलमा मारिको हिललाई बोल्ड आउट गराइन् । तर दोस्रो बलमा दुई रन दिँदा तेस्रो बलमा १ रन दिएपछि नेपालले हार भोगेको हो ।
त्यसअघि थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा २९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सम्झाना खड्का १० रन बनाउँदै क्याच आउट भइन् । कप्तान इन्दु बर्मा ९ र रुविना क्षेत्री ४ रनमा नटआउट रहे । पूजा महतो ३ रनमा क्याच आउट नै भइन् । कविता कुवँर २ रन बनाउँदा बोल्ड आउट भइन् ।
पहिलो खेलमा हङकङसँग अंक बाँडेको नेपालले दोस्रो खेलमा हार भोग्दा सुपर ३ मा पुग्ने यात्रा केही कठिन बनेको छ । दोस्रो खेलमा भने नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो ।
हङकङ र बहराइनबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो। समुह चरणको अन्तिम खेलमा नेपालले पर्सि बिहीबार बहराइनसँग खेल्नेछ। हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।
नेपालले अब सुपर थ्री मा स्थान बनाउन बहराइनविरुद्ध जित निकाल्नुपर्नेछ भने अर्को खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ ।
छनोटमा नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन् । समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत छन् । समूह ‘बी’ मा युएई, कतार र मलेसिया छन् ।
डबल राउण्ड रोविनमा समूह चरणका खेल हुनेछ । समूहका शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछन्। सुपर थ्री को शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।