FLASH NEWS

कुलेखानी-कलंकी सडक १९ दिनका लागि बन्द गरिने


नेपाल आवाज १ जेष्ठ २०८२, बुधबार १०:२० मा प्रकाशित ३७ पाठक संख्या

काठमाडौं, वैशाख ३१ । हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने मुख्य वैकल्पिक सडक कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ ।


जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेँलद्वारा हस्ताक्षरित सूचनामा सडक कालोपत्र गर्ने कार्यका लागि इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डमा यातायात पूर्णरूपमा रोक लगाइएको जनाइएको छ ।

कार्यलयका अनुसार पूर्वाधार विकास कार्यालय हेटौँडाको अनुरोधमा सडक कालोपत्रेको काम सम्पन्न नहुञ्जेलसम्मका लागि बाटो बन्द गर्न लागिएको हो ।

प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गका रुपमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरेको छ ।