FLASH NEWS

सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न


नेपाल आवाज २ जेष्ठ २०८२, बिहीबार १४:३९ मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौं, १ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोलिबाट सुरू हुने सगरमाथा सम्वादको प्रभावकारितामा प्रश्न उठेको भन्दै आलोचना गरेका छन् । सम्वादको लागि कुनैपनि देशबाट राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित् भएकोले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको बताएका छन् ।


प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,‘भोलिबाट सगरमाथा सम्वाद सुरु हुँदैछ, तर सम्वाद सुरु नहुँदै यस कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिएको यस कार्यक्रममा अहिलेसम्म कुनै देशको राष्ट्रप्रमुख वा सरकारप्रमुख वा विदेशमन्त्री कसैको पनि सहभागिता नहुने देखिएको छ ।

यो कार्यक्रम मानव जातिको भविष्य सुनिश्चितता, यो पृथ्वीको भविष्य सुनिश्चत्ताको लागि र जलवायु परिवर्तनबाट हुने जोखिमबाट न्यूनीकरणको लागि महान उद्देश्यबाट यदि गरिएको हो भने ती सम्बन्धित सरोकारवाला देशलाई पनि यो विषयमा बुझाउन सक्नुपर्दथ्यो, तर आज हामी हेरिरहेका छौं ती देशबाट सहभागिताको सुनिश्चतताको कुरा छैन । समुन्द्रपारिको त कुरा छोडिदिनुहोस, हाम्रो छिमेकी देशको पनि उच्चस्तरको सहभागिता छैन् ।

न त भारतको उच्चस्तरको सहभागिता देखिन्छ, न त चीनकै देखिन्छ । यतिसम्म कि संयुक्त राष्ट्रसंघका महासचिवको समेत उपस्थिति नहुने भएको छ । तीन सय जना सहभागिता हुने भनिएकोमा अहिले झण्डै १५० जना सहभागिता हुने भन्ने सुनिएको छ । त्यसमा पनि काठमाडौंस्थित् नियोगका प्रमुख र दाता निकायका प्रमुहरुको सहभागीहरुको संख्या जोडेर भनिएकोले यो कार्यक्रममो औचित्यमाथि गम्भीर प्रश्न उठेको छ ।’ उनले सगरमाथा सम्वाद कार्यक्रमको लागि कार्यक्रममात्रै हो कि परीणामको लागि कार्यक्रम भनेर प्रश्न तेर्साए । सगरमाथा सम्वाद कुनै हतारमा तयार गरिएको कार्यक्रम नभएर विगत ६ वर्षदेखि गम्भीरताका साथ तयार गरिएको कार्यक्रम भएको साहले स्मरण गराए ।

उनले भने,‘यदि हामीले महान लक्ष्यका साथ कार्यक्रम गर्न लागेका थियौं भने अरु देशका नेतृत्वलाई किन कन्भिन्स गर्न सकिएन ? यो सगरमाथा सम्वादमा हुने सहभागीहरुको उपस्थितिले हाम्रो देशको गौरवमाथि प्रश्न उठेको छ । हाम्रो विश्वसनीयतामाथि प्रश्न उठेको छ । यदि ती देशहरु यो मुद्दामा गम्भीर छैनन भनेपनि त्यो गम्भीर विषय हो, यदि हाम्रो नेतृत्वलाई ती देशले पत्याएनन भनेपनि यो पनि अर्को गम्भीर प्रश्न हो ।

यसले हाम्रो कुटनीतिक क्षेत्रलाई पनि अभिव्यक्त गर्दछ । हाम्रो कुटनीति कति फितलो रहेछ भनेर देखियो । यो त ठूलो अवसर थियो कि देशको कुटनीतिको पनि स्तर उठाउने, तर आज नेतृत्वको भूमिका र अविश्वसनीयताको कारणले आज यो सगरमाथा कार्यक्रम प्रभावहीन भयो । म आग्रह गर्न चाहन्छु–यो सगरमाथा कार्यक्रम छोट्याउनुहोस, पैसा खर्च गर्न, देशको हुर्मत लिन कसैलाई छुट छैन।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको टकराबले गैरआवसीय नेपालीहरुको साझा संस्था एनआरएनए विभाजित गरिएको भन्दै आलोचना गरे । उनले भने,‘एनआरएनएको एउटा समूहलाई प्रधानमन्त्रीले च्यापेर हिँडिरहनुभएको छ, अर्को समूहलाई परराष्ट्रमन्त्रीले च्यापेर हिँड्नुभएको छ ।

तपाईंहरु कुर्सीमा बस्दा मिलेर बस्ने, मिलेर देशलाई लिड गर्नुभएको छ कि लुट्नुभएको छ, त्यो गर्ने ? तर एनआरएनएलाई तपाईंहरुले दुई चिरा बनाईदिनुभयो । विदेशमा भएका नेपालीहरुलाई विभाजित गरिदिने र उनीहरुलाई दुःखी बनाउने, अनि तपाईंहरु मजाले कुर्सीमा बसेर मजाले एकताबद्ध छौं भनेर देखाईरहने ? यदि तपाईहरुमा मेल छैन भने दुनियाँलाई बताउनुहोस, यदि मेल छ भने एनआरएनए किन फुटाउनुभयो भनेर प्रश्न गर्न चाहन्छु । तपाईंहरुको अभिभावकीय भूमिका हुनुपर्दैन ? तपाईंहरुले जोड्ने हो कि फोड्ने ? ’