FLASH NEWS

चुरेबाट भरूवा बन्दुकसहित एक जना पक्राउ


नेपाल आवाज २० माघ २०७९, शुक्रबार १९:३४ मा प्रकाशित १५७३ पाठक संख्या

कैलालीको चुरेबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाउँपालिका–४ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४८ वर्षीय जब्बर रोक्का मगरलाई भरूवा बन्दुक सहित पक्राउ गरेको हो । प्रहरीले मगरको घर नजिकैको रूखको टोडकामा लुकाई छिपाई राखिएको अवस्थामा बन्दुक फेला पारेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरको सम्मेलन सुरु:  नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी किसान स‌ंघ (नेक्राकिसंघ) भक्तपुरको आठौँ जिल्ला सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले गरे । सम्मेलनको उद्घाटन भक्तपुरको मधयपुर थिमि नगरपालिका वडा नं ८ बोडेको लाछी टोलमा भएको छ । सम्मेलन सुरु हुनअघि शङ्खघर चोक मध्यपुर थिमिमा भेला भएर निकालिएकाे बाजागाजासहितकाे र्‍याली बालकुमारी, चपाचो, पुरानो ठिमी, नगरदेश हुँदै बोडेको लाछी टोलमा पुगेकाे थियाे ।

सो क्रममा उनीहरुले नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ, क्रान्तिकारी भूमिसुधार लागु गर, आदर निकेतनको व्यवस्था गर, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर, गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्था गर, जोताहा किसानहरूलाई मोहियानी हकको व्यवस्था गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

नेक्राकिसंघ जिल्ला सम्मेलन तयारी समितिका संयोजक गोविन्द दुवालको सभापतित्वमा कार्यक्रम भएको हो । सम्मेलनमा काठमाडौँ, ललितपुर र काभ्रेका किसान प्रतिनिधिहरूले पनि सम्वोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सम्मेलनको दोस्रो दिन शनिबार बन्द सत्र हुने जनाइएको छ ।