सुर्खेत । ताँजाकोट गाउँपालिका– ३ को मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थामा उपभोग गर्दै आएका छन् । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा २५ वर्षसम्म हात नपरेको केशबहादुर रोकायाले बताए ।
जग्गा नापी भए पनि आफ्नो नामको लालपुर्जा मालपोत कार्यालयमा भए नभएको कुनै जानकारी समेत नभएको उनले बताए । उक्त गाउँका वडा सदस्य धनवीरे रोकायाले नापी भएको जग्गाको लालपुर्जा मालपोत कार्यालयमा भएको जानकारी आफूलाई आए पनि स्थानीय सिमकोट पुगेर लालपुर्जा लिन सक्ने अवस्थामा नरहेको बताए ।
मासपुरबाट सिमकोट आई पुग्न चार दिन पैदल लाग्ने भएको कारण पनि लालपुर्जा लिनका लागि स्थानीयले आनाकानी गरिहेको बताए । धेरै जसो जग्गा धनी वृद्ध, महिला र अपाङ्ग भएको कारण हालसम्म सदरमुकाम सिमकोट पुगेर लालपुर्जा ल्याउन नसक्ने अवस्था रहेको बताए ।
मासपुरवासीले लालपुर्जा लिन शारीरिक कष्टका साथै आर्थिक व्ययभार पनि गर्नुपर्ने अवस्था रहेको छ । गाउँवासी सबै सिमकोट पुगेर लालपुर्जा लिन जान सक्ने अवस्था नरहेको कारण उनले मालपोत कार्यालयमा भएको लालपुर्जा गाउँमै वितरण गर्ने व्यवस्था गर्न कार्यालय र गाउँपालिकालाई आग्रह गरे ।
लालपुर्जा नभएकै कारण मास पुरवासी अनुदानका कार्यक्रमबाट समेत वञ्चित हुँदै आएका छन् । एकातिर कुनै विकासे कार्यालयबाट अनुदानका लागि प्रस्तावना खुल्दा जानकारी नहुने र भइहाले पनि लालपुर्जा नभएको कारण प्रस्ताव पेस गर्नै नपाउने बताए । अर्को कुरा जग्गाको किनबेच गर्नुपर्ने अवस्था आएपछि व्यवहारिक रूपमै बिक्री गर्ने गरिएको छ । किनेको मानिसले जग्गाको प्रमाण बिनै पनि जग्गा उपभोग गर्नुपरिरहेको छ ।
मालपोत कार्यालयका प्रमुख रवीन्द्र शाहीले मास पुरवासीको कार्यालयको लिखतमा जग्गा नापी भएको देखिए पनि एक जना बाहेक अन्य कुनैले लालपुर्जा नलिएको बताए । मोठ र स्रेस्ता नापी भएकै बेलाको भए पनि लालपुर्जा लिन कोही नआएको कारण मास पुरवासी जग्गाको प्रमाणविहीन देखिएको उनले बताए।