FLASH NEWS

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले स्वामित्व लिएर निर्माण गर्ने


नेपाल आवाज २० चैत्र २०७९, सोमबार २२:३३ मा प्रकाशित १६५१ पाठक संख्या

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।


धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए ।

केही साताअघि कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए । सोमबारको मन्त्रिपरिषद्को निर्णयसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको हो ।

कलाकार कट्टेलले अहिलेसम्म उधारोमा काम गरेको र ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसकेको बताएका थिए । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले कट्टेलले अब आफूहरूको सामर्थ्यले नधान्ने भन्दै काम रोक्नुपरेको बताएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि अब भरतपुर महानगरले हिसाब फरफारक गर्नेछ । रंगशाला निर्माणको काम भने युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण हुन्छ ।’