FLASH NEWS

नक्कली शरणार्थी प्रकरणलाई टुंगोमा पुर्‍याउँछौँः गृहमन्त्री श्रेष्ठ


नेपाल आवाज २७ बैशाख २०८०, बुधबार १८:०६ मा प्रकाशित २३४७ पाठक संख्या

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।


बुधबार सिंहदरबारमा शीर्ष नेताहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीमाझ बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले भने, ‘हामीले अनुसन्धानको प्रकृया अगाडि बढाएका छौँ। अनुसन्धानले माग गर्ने हदसम्म, आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानको निम्ति तानिनुभएको छ, यसलाई हामी निष्कर्षमा पुर्‍याउँछौँ।’

भ्रष्टाचार नियन्त्रण नभएसम्म देशमा समृद्धि हासिल नहुने उनको भनाइ थियो। उनले भने, ‘सुशासन स्थापित नगरिकन, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन बिना समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन। समृद्धिको पूर्वसर्त हो सुशासन भन्ने हाम्रो दृढ मान्यता छ।’