FLASH NEWS

विनोद थापा मगरको हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक


नेपाल आवाज २९ बैशाख २०८०, शुक्रबार २१:२२ मा प्रकाशित १६८१ पाठक संख्या

धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङले छुरा हानेर हत्या गरेको आरोपमा पक्राउ परेका आमा छोरासहित तीन जनालाई सार्वजनिक गरेको छ ।


होटलमा खाजा खान आएका विनोद थापा मगरलाई हत्या गरेको आरोपमा गल्छीको शानदार होटल एण्ड लजकी सञ्चालिका सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र किरण रानालाई पक्राउ गरेको प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बुधबार होटलमा खाजा खान आएका विनोद र होटल सञ्चालिका सरस्वतीबीच पैसाका कारण विवाद उत्पन्न भएपछि घटना घटेको थियो । उनका अनुसार पैसा लेनदेनको विषयमा सरस्वती र मृतक विनोदको सामान्य भनाभन भएको थियो । त्यसैक्रममा सरस्वतीले छोरा निरजलाई बोलाएपछि किरण रानालाई साथमा लिएर आएका थिए ।

प्रमुख प्रहरी उपरीक्षक मिश्रले भने, ‘विनोदलाई ५/७ मुक्का प्रहार गरी निरजले साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी घाइते बनाएको अनुसन्धानबाट खुलेको छ ।’ विनोदको काठमाडौंस्थित नर्भिक अस्पतालमा वैशाख २८ गते बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।

घट्नामा प्रयोग भएको छुरा घटनास्थलदेखि ३० मिटर तल त्रिशुली नदीतर्फ प्रहरीले फेला पारेको छ । ४७ वर्षीय आमा सरस्वती पनेरु पण्डित, २६ वर्षिय छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी ८ बस्दै आएका ३० वर्षिय किरण रानालाई कर्तव्य ज्यान मुद्धामा धादिङ अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको प्रमुख प्रहरी उपरीक्षक मिश्रले बताएका छन् ।

पनेरुले केटीहरुलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्ति लगाई मानव बेचबिखन गरेको उजुरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरिएको एसपी मिश्रले बताए ।