FLASH NEWS

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ४ जना मुख्य योजनाकार


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार १२:२२ मा प्रकाशित १८७३ पाठक संख्या

काठमाडौं – भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा गरिएको ठगीमा चार जना मुख्य योजनाकार रहेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।


पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको भेटिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री ‘बादल’का सल्लाहकार डा. इन्द्रजित राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

मोरङका केशव दुलालसँग चिनजान भएपछि आफूलाई ‘भुटानी शरणार्थी सम्बन्धी प्रोजेक्टमा लगानी गरौँ’ भनेर प्रस्ताव आएको सानु भण्डारीले जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन् । ललितपुर महानगरपालिका–२३ मा बस्ने सानु भण्डारी  पूर्व उपप्रधानमन्त्री रायमाझी पनि सानुको घर नजिकै बस्छन् । भण्डारीले रायमाझीलाई ‘मामा’ सम्बोधन गर्छन् ।

टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ ।

सानु भण्डारीले अहिले ललितपुरको महालक्ष्मी नगरपालिका– ४ स्थित सीतापाखा हाइटमा घर बनाएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सानुले ठगेर आएको पैसाले घर बनाएका हुन् ।

रामबहादुर थापा गृह मन्त्रालयबाट बाहिरिएसँगै डा. इन्द्रजित पनि बाहिरिए । त्यसपछि आएका गृहमन्त्री बालकृष्ण खाणसँग गिरोहले पहुँच बनाएर कार्यदलको प्रतिवेदनमा अनुसूची थप गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

मोरङ घर भएका सागर राईमार्फत गिरोह बालकृष्ण खाण र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसम्म पुगेको अनुसन्धानबाट खुलेको छ ।

सो प्रकरणमा संलग्न आरोपमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे र डा. इन्द्रजित राईसहित १६ जना प्रहरीको हिरासतमा छन् भने थप १६ जनालाई प्रहरीले फरार सूचीमा राखेको छ । फरार भएकामध्ये पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजबाहेक अरु लो प्रोफाइलका हुन् ।

पक्राउ परेका १६ जनाविरुद्ध कुनकुन कसुरमा मुद्दा चलाउने भन्ने रायसहितको प्रतिवेदन आइतबार बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ।

तर क–कसलाई कस्तो कसुरमा मुद्दा चलाउने भन्ने निश्चित अभियोग दर्तामा मात्रै हुन्छ। अभियोग दर्ता जिल्ला सरकारी वकिल कार्यालयले गर्छ। प्रहरी प्रतिवेदनको आधारमा वकिल कार्यालयले आगामी १० गतेसम्ममा अदालतमा अभियोग दर्ता गर्नेछ।

उनीहरुलाई संगठित अपराधसँगै, ठगी र किर्तेमा पनि मुद्दा चलाउने निश्चित छ। यस्तै राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउने सम्भावना रहेको प्रहरीले जनाएको छ। तत्कालीन समयमा सार्वजनिक पद धारण गरेकाहरुको हकमा अख्तियारलाई पत्र लेख्ने तयारी छ । अन्यको हकमा सम्पत्ति सुद्धिकरण विभागलाई पत्राचार गरिनेछ ।

स्रोतका अनुसार प्रहरीले ३२ जना आरोपिबाट २६ करोड ८८ लाख ७५ हजार रुपैयाँ विगो दावी गर्न सिफारिस गरेको छ ।