FLASH NEWS

संघीयता खारेजीको कुरा नीति तथा कार्यक्रममा आउनुपर्छः चित्रबहादुर केसी


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार १५:४३ मा प्रकाशित १०७५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन्।


आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन्।

उनले नेपालमा संघीयताविरुद्धको जनमत तयार भइरहेको पनि बताए। उनले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताए।

उनले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए।

उनले भने, ‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ। अहिले संघीयताको भारी यो मुलुकले बोकिराखेको छ। संघीयताविरुद्धमा नेपालमा जनमत तयार भइराखेको छ।

कालापानीबाट भारतीय सेना हटाइने छ भन्ने वाक्य थप गर्नुपर्छ। संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाइ संघीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ। संघीयता हुँदैन।’