FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले बुझाउन भ्याएन अनुसन्धान प्रतिवेदन


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार २२:०९ मा प्रकाशित १३३९ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले आइतवार नै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउन सकेन।


पक्राउ परेका १६ जना अभियुक्तसहित अन्यविरुद्ध मुद्दा लगाउने कसुर तय भइनसकेकाले प्रहरीले अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिन अझै समय लगाउने भएको हो।

प्रहरी परिसरबाट अनुसन्धान प्रतिवेदन आउने प्रतिक्षमा सरकारी वकिलहरु आइतबार अबेर साँझसम्म बसेका थिए। तर आइतबार साँझसम्म अनुसन्धान प्रतिवेदन नबुझाउने जानकारी आएपछि आफूहरु घरतिर लागेको प्रमुख सरकारी वकिल अच्युतमणि न्यौपानेले बताएका छन्।

प्रहरीले अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिँदै गर्दा आइतबार मात्रै नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पाँचवटा उजुरी परेका छन्।

गत वैशाख २९ गते पक्राउ पुर्जी जारी भएर जेठ २ गते आत्मसमर्पण गरेका उनले अमेरिका पठाउने नाममा लाखौँ ठगी गरेको भन्दै पाँचवटा उजुरी आइपुगेको  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले  बताए।  दोलखाबाट आएका पिडितहरुले पूवसभासद आङटावाविरुद्ध किटानी जाहेरी दिएका हुन् । आङ्टावाले अमेरिका उडाइदिने आश्वासन दिएर आफूहरुसँग ६/६ लाख लिएको पिडितहरुको दावी छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रतिवेदनमा त्यसलाई पनि समावेश गरेको छ ।

आइतबार मात्रै प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट थप तीन दिन म्याद थपेको छ।

आगामी शुक्रबारसम्म प्रहरीले यो मुद्दा सरकारी वकिलमार्फत अदालतमा लगिसक्नुपर्ने हुन्छ। आइतबार साँझसम्म प्रतिवेदन बुझाउने भनिए पनि केही कुराहरू टाइप गर्न बाँकी रहेकाले सोमबार बिहान १० बजेसम्म प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए।

प्रहरीले आरोपीहरूलाई ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा मुद्दा चलाउनु पर्ने राय प्रतिवेदन तयार गरिरहेको छ।

अनुसन्धानको क्रममा राष्ट्रकै छविमाथि आँच पुर्‍याउने गरी काम भएको ठहर गर्दै प्रहरीले उनीहरूलाई राज्यविरूद्धको कसुरमा पनि मुद्दा चलाउनु पर्ने राय दिन लागेको हो। स्रोतका अनुसार प्रहरीले सो कसुर आकर्षित हुने केही आधारहरू मिसिलमै समावेश गरेको छ।

यो घटनाले अन्तर्राष्ट्रिय चासो पैदा गरेको र त्यसले विदेशमा पनि मुलुकको बदनाम भएको प्रहरीले उल्लेख गरेको छ। प्रहरीले यो घटनासम्बन्धी विदेशमा छापिएका ९ वटा समाचारहरू पनि मिसिलमा समावेश गरेको छ।

दोस्रो कसुरमा नेपालीलाई अनागरिक बनाउने खेल छ। नेपाली नागरिकलाई खुलेआम अनागरिक बनाएर विदेश पठाउन करोडौं रकम उठाएको देखिएको छ। यसलाई प्रहरीले दोस्रो आधार बनाएको हो।

तेस्रोमा संगठित रूपमै राष्ट्रको छविमाथि पुर्‍याएको असरलाई आधार बनाएको छ। उच्च राजनीतिक पृष्ठभूमिका, गृह मन्त्रालय नेतृत्व लगायतले समेत यस घटनामा संलग्न भएर राष्ट्रमाथि घात गरी छविमा आँच पुर्‍याएको प्रहरीको ठहर छ।

आफू ठगिएको भन्दै विभिन्न व्यक्तिहरूले दिएको उजुरका आधारमा प्रहरीले आरोपीहरूसँग २६ करोड रुपैयाँ बराबरको बिगो माग गर्नुपर्ने राय पनि दिएको छ।

यस प्रकरणमा प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरेको छ। अझै १२ जनाभन्दा बढीलाई फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाउने तयारी छ।