FLASH NEWS

सरकारसँग ५ बुँदे सहमतिपछि विनु यादवले तोडिन् अनशन


नेपाल आवाज १० जेष्ठ २०८०, बुधबार २२:३७ मा प्रकाशित ३०९७ पाठक संख्या

काठमाडौं – न्यायका लागि १५ दिनदेखि अनशनमा बसेकी विनु यादवसँग सरकारले सहमति गरेपछि उनले अनशन तोडेकी छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार माइतीघरमा पुगेर यादवलाई जुस पिलाएका थिए ।


पीडित यादवसँग सरकारले ५ बुँदे सहमति गरेपछि अनशन तोडिएको हो । सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत र पीडित विनु यादवले ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

यस क्रममा गृहमन्त्री श्रेष्ठले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । “कत्रोकत्रो केसको अनुसन्धान गरिरहेका छौँ भने यो केस अनुसन्धान गर्न सक्दैनौँ र !”, उनले भने , “जहाँ अन्याय र पीडा छ त्यसलाई सम्बोधन गर्नुपर्छ भनेर हामी लागिरहेका छौं । तपाईंलाई हाम्रो सम्पूर्ण प्रयत्नका साथ न्याय दिन्छौँ ।”

प्रेम सम्बन्धपछि रामेछापका प्रदीप कठायतसँग विवाह गरेकी विनुले आफूमाथि श्रीमान् र श्रीमान्‌का आफन्तबाटै बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । तर न्याय नपाएपछि उनले प्रदर्शन गर्दै आएकी छन् ।

पछिल्लो पटक उनी १५ दिनदेखि माइतीघरमा अनशन बसेकी थिइन् । सर्वोच्च अदालतको गेट अगाडि निषेधित क्षेत्रमा अनशन बसेकी विनुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेपछि उनले माइतीघरको सडकमै अनशन बसिरहेकी थिइन् ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगले समेत विनु यादवको जीवन रक्षा गर्न आव्हान गरेको थियो ।