FLASH NEWS

जेठ १७ गतेदेखि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गर्ने तयारी


नेपाल आवाज ११ जेष्ठ २०८०, बिहीबार १०:४६ मा प्रकाशित १५०७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी जेठको १७ गतेदेखि भारत भ्रमण गर्ने तयारी गरिएको छ। यद्यपि, भ्रमणको मिति भने घोषणा गरिएको छैन।


‘भ्रमणको मिति नै तयचाहिँ भइसकेको छैन। प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो परराष्ट्र मन्त्रालयले नै मिलाउने हुँदा मिति पनि उसैले तय गर्ने कुरा हो,’ प्रधानमन्त्री ‘प्रचण्ड’को प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

पराराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने छन्। मन्त्रालयले सोहीअनुसार तयारी गरिरहेको छ।

‘नेपाल र भारतको परराष्ट्र मन्त्रालयले भ्रमणको दिन र कार्यतालिका एकै पटक सार्वजनिक गर्नेगरी तयारी गरिरहेका छन्, छिट्टै नै सार्वजनिक हुन्छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।

स्रोतका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले गत वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण उनले भ्रमणको मिति पछि सारेका थिए ।

भारत भ्रमण द्विपक्षीय हित प्रवर्द्धन, सम्बन्ध अभिवृद्धिमा मात्रै नभएर सीमा लगायतका समस्या समाधानमा पनि केन्द्रित रहने भनेर प्रधानमन्त्री ‘प्रचण्ड’ले बताउँदै आएका छन्।