FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका माथी अनुसन्धान जारी


नेपाल आवाज ११ जेष्ठ २०८०, बिहीबार १४:४८ मा प्रकाशित २९४१ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरुको अनुसन्धान भइरहेको बताएका छन् ।


नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै गृहमन्त्री श्रेष्ठले नाम जोडिएका हरुबारे अनुसन्धान भइरहेको बताएका हुन् । गृहमन्त्री श्रेष्ठले कसैले दिएको बयानकै आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताए ।

राजनीतिक दलले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताउँदै उनले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।

उनले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण प्रभावकारी रुपमा गर्नुपर्ने बताउँदै भने, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ ।’

उनले प्रकरणमा नाम जोडिएकाहरुको अनुसन्धानको आधारमा कारबाही अगाडि बढाउने पनि बताए । ‘मैले नेपाल प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छ’ उनले भने, ‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरु पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’ कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । कतिपयले चर्चामा आएका प्रसंगहरुमा प्रहरी पुगेन कि भन्ने आशंका रहेको भन्दै उनले प्रहरीले अनुसन्धानले खुला नै राखेको बताए । कुनै पार्टीको हो ? कुन घरानासँग सम्बन्धित छ ? वा कसको नाता पर्ने हो भन्ने कुराको अपराधसँग साइनो नहुने भन्दै उनले राष्ट्रलाई हानि–नोक्सानी हुने काम जसले गरेको छ, त्यसलाई निष्पक्ष छानबिन गरेर कानुनको दायरामा ल्याउने बताए ।

राष्ट्रिय युवा संघ नेपालले यस प्रकरणमा निर्दोष फसाउने खेल भएको भन्दै छानबिनको माग गर्दै गृहमन्त्री श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएको छ । मानव तस्करीको समग्र पक्षमा नगई अपुरो अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ काम भएको भन्दै युवा संघले उक्त अनुसन्धान र काम कारबाहीको छानबिन गर्न माग राखेर ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगायत तेस्रो मुलुक पठाउने भन्दै करोडौं ठगी गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ । प्रहरीले हाइप्रोफाइलसहित १६ जनालाई पक्राउ गरी लामो समय अनुसन्धनगरी ३३ जनाविरुद्ध मुद्दा दायर गर्नु भन्दै सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबार प्रतिवेदन बुझाएको थियो । वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण,नेकपा एमालेका निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।