FLASH NEWS

संसद बैठकमै ओलीमाथि भ्रष्टाचारको आरोप !


नेपाल आवाज १२ जेष्ठ २०८०, शुक्रबार १४:३३ मा प्रकाशित २५६३ पाठक संख्या

काठमाडौं – पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएपछि एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।


एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने बताएका छन् । शुक्रबार बैठकमा पशुपतिको गजुरमा रहेको जलहरी सुनको हो कि पित्तलको भनी संसदमा प्रश्न उठेको थियो ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको बताउँदै भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारका हजारौं काण्डहरु छन् ।’

यसपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएकाले बैठक प्रक्रियामा लैजान सहयोग मागेका थिए । तर, एमाले सांसदहरुले आधारहीन आरोप लगाउने सांसदमाथि कारबाही र संसदीय रेकर्डबाट नहटाएसम्म अवरोध कायमै राख्ने जनाएको हो ।

एमालेका उपनेता सुवास नेम्वाङले आधारहीन र गैरजिम्मेवार टिप्पणी नसच्याएसम्म बैठक चल्न नदिने बताए । सदन रोक्ने रहर नभएको बताउँदै उनले भने, ‘हामी प्रष्ट छौं, यति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी भाग लिन सक्छौं ?’ उनले भ्रष्टाचार भएमा कारबाही गर्न सक्ने डाडूपन्यू लिएको सत्तारुढबाटै प्रमुख प्रतिपक्षमाथि आधारहीन गम्भीर आरोप लगाइएको बताए ।

नेता नेम्बाङले भने, ‘मैले तीनपटक सुनेँ । सुनको जलारीको नाममा पशुपतिनाथमा पित्तलको जलारी चढाएर भ्रष्टाचार गर्ने काम गरेको छ । पार्टीको नेतामाथि यस्तो आरोप लागेको छ ।’

एमाले नेताहरुले उभिएर संसद अवरोध गरिरहेकै बेला सभामुख घिमिरेले माओवादी केन्द्रका हितराज पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले सार्वभौम संसदमा सबैले आ–आफ्नो कुरा राख्न पाइने बताए । उनले भने, ‘भ्रष्टाचार भइरहेको विषयलाई छानबिन गर्नुपर्ने हुन्छ’ उनले भने, ‘सरकारले आफ्नो कुरा राख्छ । आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । उहाँले आफ्नो कुरा राख्नुहुन्छ ।’

तर, त्यसपछि एमालेका सांसदहरुले रोष्टममै गएर नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले बैठक स्थगित गर्नुपरेको थियो ।

ओली नेतृत्वको सरकार हुँदा २०७७ फागुन १२ गते पशुपतिमा ९६ किलोको जलहरी राखिएको थियो। जलहरीमा १२ किलो सुन पछि थप्ने भनिएको थियो।

सर्वोच्चको आदेशदेखि महालेखाको प्रतिवेदनमा पनि प्रश्न छ पशुपतिमा राखिएको सुनको जलहरीबारे

पशुपतिमा सुनको जलहरी राखिएकै दिन सर्वोच्च अदालतले पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानुन भएकाले चरण-चरणमा उक्त काम रोक्न अन्तरिम आदेश दिएको थियो।

विरोधका बाबजुद् तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरेकी थिइन्।

त्यतिबेला के भएको थियो भनेर हामीले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई सोध्यौं।

उनले त्यतिबेला एक-दुई दिनको फरकमा १०८ किलो सुनकै जलहरी पशुपतिमा राखिएको बताए।

जलहरीमा पित्तल नमिसाएको उनको दाबी छ। खतिवडाले १ सय ८ किलो सुन राष्ट्र बैंकबाट किनेर ल्याइएको बताए।

‘बैंकले मिसाएको भए थाहा भएन। विश्वास नलागे निकालेर जाँचे हुन्छ,’ उनले भने।

जलहरीलाई बलियो बनाउन एक किलो चाँदी र आधा किलो तामा मिसाइएको उनले बताए।

‘त्योबाहेक अरू केही मिसाइएको छैन,’ उनले भने।

तर यो विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत प्रश्न उठाइएको थियो।

महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू. ८० करोड ११  हजारमा खरिद गरेको र विभिन्न  शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक  १२.७५ ग्रामसमेत प्रयोग गरी  १०७ किलो  ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ।

निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो  ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।

मन्दिरका चार जना मुख्य पूजारीले मात्र छोएर राख्न मिल्ने जलहरी सर्वसाधारणले सजिलै देख्दैनन्। जुन ठाउँमा उभिएर सर्वसाधारणले पशुपति दर्शन गर्छन्, त्यहाँबाट जलहरी देखिँदैन।

पशुपतिमा पश्चिमी ढोका मात्र भक्तजनका लागि खुला हुन्छ। तीर्थालुले ढोकामै गएर आफैंले फूलपाती चढाउन पाउँदैनन्। त्यहाँ खटिएका कर्मचारीले दुई मिटर वरैबाट फूलपाती मन्दिरको ढोकामा छुवाइदिन्छन्, जल चढाइदिन्छन्।

भक्तजनको भीडभाडबीच कतिले त शिवलिंगको राम्ररी दर्शन गर्न पनि पाएका हुँदैनन्, यस्तोमा जलहरी देख्नु टाढाको कुरा। कसैले घाँटी तन्काएर हेर्‍यो भने मात्र मुश्किलले जलहरी देखिन्छ।

पशुपतिको चारै ढोका चाँदीका छन्। चाँदीका पातामा विभिन्न देवदेवीका कलाकृति कुँदिएका छन्। जलहरी भनेको पनि यस्तै कुनै कलात्मक पातो वा छानो हो कि भन्ने धेरैलाई भ्रम छ। कतिले जलहरी मन्दिरको भित्री छानामा राखिन्छ पनि भन्छन्। कतिले शिवलिंगभन्दा माथि छाता जसरी ओढाइन्छ भन्ठानेका छन्।

यो न मन्दिरको भित्री छानामा राखिन्छ, न शिवलिंगमाथि छाताजसरी ओढाइन्छ। खासमा यो शिवलिंगको तल्लो भाग बेरेर झकिझकाउ पार्ने कलात्मक गहना हो।

जलधाराबाट खसेको पानी वा दूध शिवलिंगमा परेको त तपाईंहरूले देख्नुभएकै होला। शिवलिंगलाई नुहाएपछि त्यही जल वा दूध बगेर जुन तल्लो भागमा जम्मा हुन्छ, जसलाई शिवलिंगको गर्भगृह भनिन्छ। जलहरी भनेको त्यही गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने पाता हो।

जलहरीबाट बगेको तरल पदार्थ बह्मनाल हुँदै बाग्मतीमा गएर मिसिन्छ। भक्तजनलाई अभिषेक गरिने जल जलहरीबाटै लिइने पूजारीहरू बताउँछन्।

पशुपति शिवलिंगको तल्लो भागमा बासुकी नाग छ। नागमाथि करिब पाँच इन्च उचाइमा शिवलिंगको गर्भगृह छ। पाँच मिटर गोलाइ रहेको यो गर्भगृहलाई सुनको पातोले मोरिएको छ।

पूजारीहरूका अनुसार शिवलिंगमा निरन्तर चढाइने दूध, जल, मह पोखिँदै जाने ठाउँमा राखिने तामा, चाँदी वा सुनको पातो नै जलहरी हो।

(तस्बिर फाइल)